सिन्धुली । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सिन्धुली मकवानपुर तथा सिन्धुली सर्लाही सीमाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता कपिल वाइवा नाम गरेका शेरबहादुर वाइवालाई हरिहरपुरगढी र मकवानपुरको सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो । अन्य दुई कार्यकर्तालाई भने सिन्धुली र सर्लाहीको सीमाबाट पक्राउ
गरी आवश्यक अनुसन्धान गरिरहेको र अनुसन्धानपछि मात्र उनीहरु दोषी या निर्दोष हुन् पछि भन्न सकिने प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
यही २० चैतमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ भलखडामा कालिका कन्ट्रक्सनको अस्थायी क्याम्पमा विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्ट्रक्सनका सवारी साधन माथि आगजनी र बम विस्फोट गराएका थिए । सोही घटनालाई लिएर अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको र अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले यही १६ चैतमा मरिण गाउँपालिका–७ महेस्वतामा रहेको एनसेलको टावरमा क्षति पु¥याएका थिए । उक्त घटनाबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस