‘रुट परमिट’ खारेज हुने भएपछि व्यवसायी पछि हट्न बाध्य

विहीबार, २२ चैत्र २०७४, १३ : ००
‘रुट परमिट’ खारेज हुने भएपछि व्यवसायी पछि हट्न बाध्य

काठमाडौँ । अन्ततः यातायात क्षेत्रमा ‘सिन्डिकेट’ लादन पाउनुपर्ने मागबाट यातायात व्यवसायी पछि हटेका छन् । विगत चार दिनयता काठमाडौको कोटेश्वर हँुदै बनेपा पनौती चल्ने सार्वजनिक सवारी साधन नचलाई विरोधमा उत्रेका व्यवसायीले बिहीबारबाट पूर्ववत अवस्थामा आफ्ना सवारीसाधन चलाएका हुन् ।

सरकारले गत १८ गते यातायातसम्बन्धी नयाँ निदेर्शिका र मापदण्ड ल्याएपछि त्यसको विरोधमा उत्रेका काठमाडौँ–बनेपा–पनौती चल्ने काभ्रे मिनिवस र मइक्रोबस व्यवसायी सरकार आफ्नो निर्णयबाट पछि नहट्ने संकेत देखेपछि आफ्ना सवारी साधन चलाउन बाध्य भएका हुन् ।

सरकारको निर्णय नमान्नेको रुट परमिट खारेज गर्ने यातायात व्यवस्था विबभागको चेतावनीपछि व्यवसायी पछि हटेर पुर्ववत अवस्थामा उक्त रुटमा बस सञ्चलन भएको यातायात व्यवस्था विभागका डिजी रुपनारायण भट्टराइले जानकारी दिए । ‘व्यवस्था विभागले व्यवसायीलाई गराउने जानकारी गराइसकेको छ । अब चलाउनेले चलाउँछन् नचलाउनेको रुट परमिट खारेज हुन्छ’ भटराइले भने, ‘मैले बुझेसम्म बिहीबार बिहानैबाट व्यवसायीहरुले काठमाडौ–बनेपा–पनौती बस चलाएका छन्, कुनै अवरोध छैन ।’

सरकारले  उक्त रुटमा मयुर यातायात र साझा यातायातलाई रुट परमिट दिएपछि केही व्यवसायी आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवस्था विभागले बुधबारमात्रै सो रुटमा नयाँ आठवटा समितिलाई अस्थायी इजाजत दिएको थियो । सरकारको पछिल्लो निर्णयअनुसार काठमाडौं–बनेपा रुटमा मयुर यातायातले सुविधायुक्त बस सञ्चालनमा ल्याएको थियो । मयुर यातायात चलेपछि कोटेश्वरपूर्वका १२ वटा समितिले आफ्ना सवारी साधन थन्क्याएर विरोध गरेका थिए ।

यसैबीच राष्ट्रिय यातायात व्यवसायी महासंघले नयाँ निर्देशिकाबारे आगामी चैत २६ गते ठोस निर्णय गर्न बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले २६ गतेको भेलाले ठोस निणर््ाय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस