डोटी । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको र उपचार गर्नमा असहज भएको खबरपछि कांग्रेसले उक्त निर्णय गरेको हो । सङ्क्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरिएको पार्टी जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए ।
अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालले स्रोतसाधन जुटाएर चिकित्सकसहित आफ्नो पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्ने निर्णय भएको सभापति देउवाले जानकारी दिए । पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्नका लागि यहाँको शिखर नगरपालिकाले आफ्ना तर्फबाट १० श्यया उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सीताराम जोशीले जानकारी दिए ।
यसैगरी उक्त नगरपालिकाले बाहिरी जिल्लाको शव व्यवस्थापनका लागि घाट र दाउरासमेत उपलब्ध गराउने बताइएको छ । कोरोना सङ्क्रमितको उपचारमा सहजताका लागि नगरपालिकाले जिल्ला अस्पताललाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख धौलदेवी रावलले जानकारी दिए ।
कोभिड अस्थायी अस्पतालका लागि कांग्रेसले उपलब्ध गराएको भवनमा आवश्यक सामग्रीसहित कोरोना सङ्क्रमितको उपचारका लागि तयारी गरिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए । यहाँ हालसम्म कोरोना सङ्क्रमणका कारण पाँच जनाको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ जेठ २०७८, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा