चितवन । कोरोना भाइरसको पहिलो लहरमा अस्थायी अस्पताल र व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गरेको भरतपुर महानगरपालिकाले यस पटक सङ्क्रमितलाई अस्पतालसम्म निःशुल्क ल्याउने अभियान शुरु गरेको छ । यससँगै महानगरले दुई स्थानमा आइसोलेशन तयार गर्दैछ ।
महानगर प्रमुख रेनु दाहालले दुईवटा एम्बुलेन्स सङ्क्रमितलाई अस्पताल ल्याउनका लागि तयारी अवस्थामा राखिएको बताइन् । शहरी क्षेत्रकालाई भन्दा ग्रामीण क्षेत्रका सङ्क्रमितलाई अस्पतालसम्म आउन कठिन हुने भएकाले एम्बुलेन्सको व्यवस्था गरिएको उनको भनाइ छ ।
उनले भनिन्, “महानगरभित्रै कोरोना उपचारका लागि तीन ठूला अस्पताल छन् । ती अस्पतालसम्म ल्याउने व्यवस्था महानगरले गर्छ ।” सामान्य अवस्थाका सङ्क्रमित घरमै बसेको र जटिललाई अस्पतालमै राख्नुपर्ने भएकाले यसको व्यवस्थापनमा महानगर जुटेको उनको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्र शिवनगर र स्वास्थ्य चौकी शारदानगरमा आइसोलेशन कक्ष तयार गरिने पनि उनले जानकारी दिइन् । यी दुई ठाउँमा कम्तिमा ५० शय्याको आइसोलेशन कक्ष निर्माण गर्न सकिने छ । कोरोनाको उपचार गर्न तोकिएका अस्पतालहरुको शय्या भरिएमा आइसोलेशन कक्षलाई सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
ती आइसोलेशन अक्सिजनसहितको सुविधा सम्पन्न हुने छन् । कोभिड–१९ को रोकथाम र उपचारका लागि महानगर प्रमुखले आफ्नै नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेकी छन् । उनले कोरोनाका लक्षण देखिएकालाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरिएको बताइन् ।
स्वास्थ्य विज्ञ, स्वास्थ्य संस्था प्रमुख र स्थानीय प्रशासनसँग जोखिम न्यूनीकरण र प्रभावकारी उपचारका लागि समन्यव गरी महानगर अगाडि बढेको बताउँदै उनले हरेक टोलमा माइकिङमार्फत सचेतना कार्यक्रम गरिएको जानकारी दिइन् ।
भरतपुर महानगर उपप्रमुख पार्वती शाहले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई सफल पार्न समन्वय गरिएको बताइन् । उनले भनिन् “संङ्क्रमितहरूलाई स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको छ ।”
भरतपुर केन्द्रीय अस्पताल, मेडिकल कलेजहरू, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थासँग समन्वय गरी सङ्क्रमितहरूको उपचारका लागि प्रभावकारी ढङ्गले अगाडि बढेको उनले जानकारी दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले महानगर माहतहतका सम्पूर्ण स्वास्थ्य केन्द्रहरू नियमित सञ्चालन गरी स्वास्थ्यकर्मीहरूलाई कोभिड रोग नियन्त्रण, व्यवस्थापन तथा उपचारका लागि परिचालन गरिएको बताए ।
जिल्लास्थित अन्य कार्यालय तथा सङ्घ संस्थाहरूसँगको समन्वयमा कोभिड रोकथाम तथा उपचारका लागि समन्वय र सहजीकरण भइरहेको महानगरको भनाइ छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडास्थित सर्वपक्षीय समिति र टोल विकास समितिलाई समेत सक्रिय बनाई कोभिडका बिरामीहरूको पहिचान व्यवस्थापन र उपचारलाई सहज बनाउने कार्य भइरहेको महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्य सुरक्षालाई विशेष महत्व दिएर आवश्यकताअनुसार थप कामहरू गर्दै जाने योजनाका साथ भरतपुर महानगर अगाडि बढिरहेको महानगर प्रमुख दाहालको भनाइ छ ।
गत वर्ष भरतपुर महानगरपालिकाले वागेश्वरीमा सञ्चालन गरेको आइसोलेसनबाट ५०० जना सङ्क्रमितले सेवा लिएका थिए । महानगरपालिकाले अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २३ बैशाख २०७८, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुरमा मापदन्ड बिपरितका संरचना घरधनी आफैले भत्काउन थाले
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
भरतपुर महानगरको पुँजीगत खर्च ५६ प्रतिशत मात्र
भरतपुर भ्रमण वषको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान
बेपत्ता यात्रु र बस खोज्न हात्ती सहितको टिम परिचालन