चितवन । जापानबाट भरतपुर महानगरपालिका भ्रमणका लागि आएको योकोसुका सिटीका प्रमुखसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । योकोसुका सिटीका प्रमुख (मेयर) कामिजी क्याटसुअकिसहितको टोलीलाई आज महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले स्वागत गरे।
जापानबाट आएको कामिजीसहितको १० जनाको समूहलाई स्वागत गर्दै महानगरप्रमुख रेनु दाहालले नेपाल र जापानबीच १ सेप्टेम्वर, १९५६ मा दौत्य सम्बन्ध सुरु भई सद्भावपूर्ण सम्बन्ध, आपसी समझदारी तथा नेपालको पूर्वाधार र विकासका साथै अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य हुँदै आएको बताइन् । दाहालले नेपाल र जापानबीचको सम्बन्ध आगामी दिनमा जनस्तरमा प्रगाढ र सुदृढ बन्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख दाहालले सन् २०२३ मार्च ६ देखि १५ सम्म जापान भ्रमण गरेकी थिइन् । सो क्रममा भरतपुर महानगरपालिका र योकोसुका सिटीबीच आपसी हितको उद्देश्यले समझदारी भएको थियो । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापनमा जापानको सहयोगको अपेक्षा गरेको प्रमुख दाहालले बताइन् ।
योकोसुका सिटीका प्रमुख कामिजीले भरतपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने बताए । जापानमा काम गर्न इच्छुक नेपाली नागरिकको अवस्थाबारे प्रत्यक्ष बुझ्न र जापानी भाषाको पढाइबारे प्रत्यक्ष हेर्न पाएको उनले जानकारी दिए । सो समूहले आज भरतपुर महानगरपालिकाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १५ : ३१
लेखकबाट थप