आजको प्रतिनिधिसभाको बैठकमा केके भयो ?

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १६ : ०४
आजको प्रतिनिधिसभाको बैठकमा केके भयो ?

काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकोटाले बैठकलाई जानकारी गराए । 

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले पूर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । पूर्व मन्त्रीसमेत रहेका प्रधानाङ्गको चैत २० गते शुक्रबार निधन भएको थियो । उनको निधनप्रति बैठकले दुःख व्यक्त गरेको छ ।

एमाले सांसद खगराज अधिकारीले संसद बैठकमा नेकपा (एमाले) कोरुपमा प्रस्तुत हुने व्यवस्था नभएको बताए । नेकपामा रहेका दुई पार्टी अलग अलग भए पनि संसद समितिमा अझै नेकपाको रुपमा सांसदहरुको प्रतिनिधित्व रहेको भन्दै उनले संसदीय समितिमा एमालेको रुपमा प्रतिनिधित्वको व्यवस्था गर्न उनले माग गरिन् । आफूहरु संवैधानिक र नियमावलीसम्मत काम गर्न चाहे पनि त्यस्तो वातावरण नबनेको भन्दै उनले सभामुख अग्नी सापकोटाको ध्यानाकर्षण गराए । 

बैठकको शून्य समयमा कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको जस्तो विकास निर्माणको काम नभएको बताए । २०७५ असोजसम्म मेलम्चीको पानी ल्याउने प्रतिवद्धता सरकारले गरे पनि २०७७ चैतमा आएको उनले टिप्पणी गरे । आयोजना ढिलो सम्पन्न हुँदा व्ययभार बढ्ने गरेको उनको भनाइ थियो । 

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले चुनावी घोषणापत्रमा गरिएको प्रतिवद्धताअनुसार काम नभएको टिप्पणी गरे । बैठकमा सांसद शान्ता चौधरीले सरकारले विकासको काम गर्दा पनि विकास विरोधीले विरोध गरेको देख्दा अचम्म लागेको बताइन् । 

सांसद महेश बस्नेतले संसद बैठकमा अस्वस्थ बहस भइरहेको टिप्पणी गरेका थिए । प्रधानमन्त्रीको राजिनामा जबर्जस्ती माग्ने काम भइरहेको बताए। सांसद बस्नेतले राजनीतिलाई अस्वस्थ बनाउने प्रयास नगर्न आग्रह गरेक थिए । प्रमुख प्रतिपक्षीदल काँग्रेसले संसद बैठकमा बलहठ देखाइरहेको उनले टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस