काठमाडौं । पूर्व खानेपानीमन्त्री बीना मगरले आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी उहाँले उक्त प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो ।
सो अवसरमा उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”
मेलम्चीबाट सुरुङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यकामा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आएको पानी आजै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौँका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।
आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ चैत्र २०७७, २० : २७
लेखकबाट थप