काठमाडौँ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भए वा नभएको पत्ता लगाउने प्रभावकारी उपाय पिसिआर परीक्षण नै हो । कुनै समय देशभरमा ४८ वटा पिसिआर मेसिनबाट स्वाब परीक्षण हुँदै आएकोमा पछिल्ला दिनमा २९ वटा पिसिआर मेसिनमात्र संचालनमा छन् ।
हाल देशभरबाट दैनिक तीन हजारको हाराहारीमात्रै पिसिआर परीक्षण हुँदै आएको छ । देशभर विभिन्न अस्पताल तथा स्थानीय तहसँग रहेका पिसिआर मेसिन थन्किने अवस्थामा पुगेका छन् ।
पिसिआर मेसिन सदुपयोगका लागि ठोस रणनीति नबने करोडौं रकम बराबरको सम्पत्ति प्रयोगविहीन हुन सक्ने भएकाले राज्य सचेत हुन जरुरी भएको जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डाक्टर रुना झा कोरोना परीक्षण गर्ने उद्देश्यले खरिद भएका सबै पिसिआर मेसिनले भविष्यमा प्रतिफल दिइरहन्छन् भन्ने अवस्था नदेखिएको बताउँछिन् ।
‘पिसिआर मेसिनबाट अन्य रोगहरुको समेत परीक्षण गर्न सकिने भए पनि स्थानीय तहमा त्यस्ता मेसिनबाट अन्य कुनै रोगको परीक्षण गर्न सकिदैँन,’ उनी भन्छिन्, ‘त्यहाँ अन्य कुनै रोग लागेको आशंकामा परीक्षण गर्न तथा उपचार गर्ने जनशक्तिको पहुँच नहुन सक्छ, त्यसैले त्यहाँ कोरोनाबाहेक अन्य रोगको परीक्षण हुने सम्भावना कम हुन्छ ।’
पिसिआर मेसिनबाट विभिन्न रोगहरू जस्तै, क्षय रोग, हेपाटाइटिस, एचआइभी, स्वाइनफ्लू लगायतका रोगको परीक्षण गर्न सकिने जनस्वास्थ्य विज्ञ डा। समीरमणि दीक्षित बताउँछन् । तर यी रोगहरु कोरोनाको तुलनामा न्यूनमात्रामा हुने भएकाले पनि पिसिआर मेसिन पुनः प्रयोग नहुन सक्ने उनी बताउँछन् । फरकफरक रोग परीक्षण गर्नका लागि विभिन्न प्रकारका किट खरिद गर्नुपर्ने र सोही अनुसार प्राविधिक जनशक्ति आवश्यक हुने भएकाले आर्थिक रुपमा त्यो सहज नहुन सक्ने उनले बताए ।
अब स्थानीय तह, प्रादेशिक तह र संघीय अस्पतालमा रहेका पिसिआर मेसिनमा खिया लाग्न र धुलोले पुरिन नदिनका लागि सरकारले नै ठोस योजना बनाउनुपर्ने उनको भनाइ छ । महामारी तीव्र गतिमा फैलिदा कतिपय निजी प्रयोगशालालाई सरकारले किट, पिसिआर मेसिन खरिद, प्रयोगशालामा खटिने जनशक्ति आदिमा सहयोग गरेको थियो । सरकारले आपतकालीन अवस्थामा खरिद गरिएका पिसिआर मेसिनलाई अन्य रोगको परीक्षणका लागि प्रयोग गर्ने रणनीति बनाएर अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।
नेपालमा कोरोनाभाइरसमात्र नभएर विभिन्न प्रकारका किटाणुजन्य रोग भएकाले पिसिआर मेसिनबाटै तिनको परीक्षण गर्ने व्यवस्था मिलाउन मेसिन खरिदकर्ताहरू र सरकारबीच समन्वय हुनुपर्ने उनको भनाइ छ । ‘नेपाल किटाणुहरूको परीक्षण र पहिचान कमजोर थियो,’ उनले भने, ‘महामारीले स्वास्थ्य क्षेत्रमा फड्को मार्नुका साथै ठूलो अवसरका ढोकाहरू पनि खुला ग¥यो । अब पिसिआर मेसिनलाई बहुउपयोगी बनाउनतिर विशेष योजना तर्जुमा गर्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ फागुन २०७७, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना बीमा रकम भुक्तानी माग्दै सर्वोच्चमा रिट
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
कोरोनाको केपी भेरियन्ट : सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन आग्रह
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि
थप दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन वान् सङ्क्रमण