काठमाडौँ । सरकारले प्रधानमन्त्रीलाई संवैधानिक परिषद्का अरू दुई सदस्यले साथ दिए निर्णय हुन सक्ने गरी अध्यादेश जारी गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बैठक बस्ने कार्यविधि पनि छोट्याइएको छ । मन्त्रिपरिषद्को निर्णयबाट पारित गरी सिफारिस गरिएको अध्यादेश मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी हुन् । केही मन्त्रीले भने अध्यादेशबारे आफूलाई पछि मात्रै थाहा भएको प्रतिक्रिया दिएका छन् ।
नेपाल राजपत्रमा मंगलबार साँझ प्रकाशित अध्यादेशमार्फत तीनवटा व्यवस्था परिमार्जन गरिएको छ । अध्यादेशमार्फत ऐनको दफा ६ को उपदफा ३ मा नयाँ व्यवस्था गरिएको छ । जसमा ‘परिषद्को अध्यक्षसहित तत्काल बहाल रहेको बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भन्ने व्यवस्था छ । यसअघि ऐनमा अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्य उपस्थित हुनुपर्ने प्रावधान थियो ।
उपसभामुख पद रिक्त भएकाले हाल संवैधानिक परिषद्मा अध्यक्षको हैसियतले प्रधानमन्त्रीसहित ५ जना पदाधिकारीमात्रै बहाल छन् । यस्तोमा सदस्य रहेका जोकोही अनुपस्थित हुँदा परिषद्को बैठक बस्न सक्दैनथ्यो । अध्यादेशबाट सरकारले बैठक नै बस्न नसक्ने अवस्था हटाउन खोजेको देखिन्छ ।
अध्यादेशले दफा ६ को उपदफा ५ मा पनि फेरबदल गरेको छ । उपदफा ५ मा ‘बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुनेछ’ भन्नेछ । यो व्यवस्था पहिले पनि थियो । तर प्रतिबन्धात्मक वाक्यांश थपिएको छ । त्यसमा ‘यस उपदफाबमोजिम सर्वसम्मति कायम हुन नसकेमा अध्यक्षसहित तत्काल बहाल रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ’ भनिएको छ । यसअघि ऐनमा ‘बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिका आधारमा हुनेछ’ भन्ने व्यवस्था थियो । त्यो बैठकमा सर्वसम्मति कायम नभए अर्को बैठक डाक्नुपर्ने व्यवस्था थियो ।
अध्यादेशपछि अध्यक्ष र २ जना सदस्यबीच सहमति भए निर्णय हुनेछ । बैठकमा मतभेद भए पनि दोस्रो र तेस्रो बैठक बोलाउनुपर्ने आवश्यकता रहने छैन । किनभने त्यही बैठकमै सहमति नजुटे बहुमतबाट निर्णय हुने व्यवस्था थपिएको छ । सहमतिको प्रयासका लागि दोस्रो र तेस्रो बैठकको परिकल्पना गरिएको दफा ५ को उपदफा ६ र ७ हटाइएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०१ पुस २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि बस्दै सत्तारुढ दलको बैठक, भूमि सम्बन्धी अध्यादेशमा छलफल
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने