–नारायण ढुङ्गाना
मलेखु । देशकै व्यस्त राजमार्गमास्थित नारायणगढको किनारैकिनार धादिङको गल्छीसम्म त्रिशूली नागबेली बग्छिन् । मुग्लिन हुँदै काठमाडौँको सडक यात्रामा हुइँकिँदा देखिने त्रिशूलीलाई नजीकबाट छाम्न भने बलौटे बगरमै पुग्नुपर्छ । मुलुकको महत्वपूर्ण शहर काठमाडौँ, पोखरा, चितवनबीचको मनोरम भूभाग त्रिशूलीले ओगटेको छ । पहाडैपहाडमा बनेको राजमार्ग छेउमा आफ्नै लयमा बग्ने त्रिशूली पर्यटनको अपार सम्भावनास्थल हो । यहाँको जलक्रिडा विश्वमै प्रख्यात छ । ठाउँठाउँमा नदीमाथि उर्लिएको छालसँग भलाकुसारी गर्ने धोको पूरा गराउन अचेल त्रिशूली हरदम तयार छ ।
काठमाडौँ निवासी घनश्याम रिजालले पनि निकै लामो समयदेखि सँगालेको धोको शनिबार समूहगत रुपमै पूरा गर्नुभयो । नदी पस्नुअघि के होला, कसो होला भनेर जलयात्रीको मुहारमा द्विविधा झल्किन्थ्यो । त्यसमाथि ¥याफ्टिङ रिभर गाइडले अलिकति डर र अलिकति साहसिक वस्तुस्थिति र सुरक्षाका बारेमा जानकारी गराएपछि झन् अन्योलता छायो । जब यात्रा शुरु भयो यात्रीको द्विविधा खुसीमा परिणत भयो । सबैले नदीसँगको मजा लिन थालिहाले । “छालसँग खेल्दाको रमाइलो क्षण कहाँ भुल्नसक्नु, पानीमाथि तैरिँदा प्राप्त हुने पानीका फोकाको स्पर्श कम्ता मजा हुन्न”, रिजालले खुसीको बहार सुनाउनुभयो । पहिलोपहिले देखेको जलयात्राको अनुभव उहाँले यसपटक आफैँले सँगाल्नुभयो ।
शनिबार रिजालसहित ३५ जनाको नेतृत्व गोल्डेन आई ग्रुपसँग आबद्ध अरुण सिलवालले गर्नुभएको थियो । सधँै नयाँनयाँ साहसिक पर्यटन रुटको खोजीमा लाग्ने सिलवाल भन्नुहुन्छ, “यसअघि धेरै ठाउँमा गरिएको जलयात्राभन्दा शनिबारको निक्कै रोमाञ्जक भयो, अबको प्याकेज त्यहीँ हाल्छु ।” उहाँसँग अन्य व्यवसायीहरु चितवन, काठमाडौँ, मकवानपुर र दोलखाबाट आउनुभएको थियो । अविस्मरणीय त्रिशूली जलयात्रामा व्यवसायीहरु समीर पाण्डे, प्रदीप विंडारी, सन्देश विंडारी, रमेश सिलवाल, प्रतिभा पाण्डे, मोडल अमित पललगायतले भरपुर मनोरञ्जन लिनुभयो ।
कहिले नदीका छालसँग भलाकुसारी त कहिले पौँठेजोरी नै खेल्नुपर्छ । राम्ररी चलाउन सकिएन भने छालले जित्छ, अनि नदीमा खस्ने सम्भावना पनि छ, तर आत्तिनुपर्ने अवस्था छैन । नदीमा खसी हाले पनि सुरक्षामा धेरै उपाय छन् । “पौडिन नजान्नेहरु पनि डराउनु पर्दैन”, ढुक्कले जलयात्रा गर्न आश्वस्त पार्दै ¥याफ्टिङ रिभर गाइड मीनकुमार गुरुङले भन्नुभयो, “कोही मान्छे डुब्ने चान्स नै हुन्न, हामी तत्कालै उद्धार गरिहाल्छम् ।”
यात्राको शुरुमा लाइफ ज्याकेट लगाउनु अनिवार्य छ । त्यसले मानिसलाई पानीमा डुम्न दिँदैन । टाउको जोगाउन हेल्मेटको प्रयोग हुन्छ । आवश्यक सावधानीका डोरी, ¥याफ्टिङ एम्बुलेन्स, कायक साथमा हुन्छ । केही भइहाल्यो कि तत्कालै उद्धार गर्न सक्ने तयारीका साथ अनुभवी टोली परिचालन भएका हुन्छन् ।
शनिबारको जलयात्राको नेतृत्व एड्भेन्चर एप्स नेपालका नदी पथप्रदर्शकले गरेका थिए । मीनकुमारको नेतृत्वमा डुङ्गामा थिए विनोद गुरुङ, जीवन रानामगर, मनोज गुरुङ, सञ्जीव गुरुङ । कायकिङमा सागर त्रिपाठी र हिमाल गुरुङ तथा डकिमा अमृत मगरको पथप्रदर्शक टोली सहभागी थियो ।
नेपालमा जलयात्रा गराउने यस्ता कम्पनी झण्डै ४० छन् । कालीगण्डकी, कर्णाली, सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी, सेती, दूधकोशी, त्रिशूली र तमोरलगायतमा जलयात्रा हुन्छ । यद्यपि मुलुक कै केन्द्रविन्दु र राजधानीबाट नजीक तथा सुरक्षाका सबै उपाय अपनाउन सजिलो भएकाले सबैको रोजाइमा त्रिशूली हुने गरेको छ । जति बेगमा पानी दौडिन्छ, त्यति नै ¥याफ्टिङको मजा हुन्छ । छालसँग भलाकुसारी गर्दै सँगसँगै उफ्रिएर प्राप्त हुने आनन्द कसैले भुल्न सक्दैनन् । पथप्रदर्शकले बेलाबेलामा प्याडल हाइफाइ गराएर खुसी थपिदिन्छन् ।
यात्राका क्रममा गीत सङ्गीतको धुनमा रमाउनेदेखि पानी छ्यापाछ्याप गरेर मजा लिन पर्यटक औधी मन पराउँछन् । कतिपय डुङ्गाबाट हाम्फालेर बग्दै गरेको पानीमा पौडीको मजा लिन तम्सिन्छन् । सहभागी सबैले प्याडल चलाउनुपर्ने भएकाले रमाइलोका बीच थकान बिलाएर जान्छ । बीचमा विश्राम लिँदा नदी किनारको तातो बालुवामा उलटपुलटको मजा बेग्लै हुन्छ । बालुवामा लुकामारी गर्दै एक अर्कालाई टाउको मात्रै देखाएर पुर्नु अर्को रोमाञ्चक क्षण बनिदिन्छ । शनिबार त्यही क्षत्र यत्रतत्र थियो ।
जलयात्रामा नदीको अवस्था, दूरी, समयअनुसार शुल्क फरकफरक हुन्छ । मलेखुबाट जवाङखोलाको झण्डै २५ किलोमिटरको एउटा रुट छ । त्रिशूलीमै पनि यस्ता रुट धेरै छ । रमाउँदै जाँदा करीब चार घण्टामा यात्रा टुङ्गिन्छ । पर्यटकको चाहनाअनुसार थप्न पनि सकिन्छ ।
काठमाडौँका जलयात्रा गराउने कम्पनीले विदेशी पर्यटकलाई प्याकेजमा विभिन्न नदीमा लैजान्थे । कोभिड–१९ का कारण गत वर्षको चैतमा भएको बन्दाबन्दीपछि विदेशी पर्यटक ठप्प छन् । बन्दाबन्दी हटेर जनजीवन सामान्य हुन थालेपछि नेपाली पर्यटक थपिन थालेका छन् । यही दशैँको आपसापबाट भने नदीमा जलयात्रा गर्नेको लर्को लाग्न थालेको धादिङको मलेखुस्थित सिद्धलेख गाउँपालिका–४ मा रहेको रिभर पार्कबीच रिसोर्टका सञ्चालक राममणि सिलवाल बताउनुहुन्छ ।
त्यही रिसोर्टबाट जवाङखोला÷मौवा खोलासम्मको जलयात्रा रोमाञ्चकारी पनि छ । जलयात्राका लागि शनिबार त्रिशूलीमा सयौँ मानिस जम्मा भए । यहाँ चार डुङ्गामा ३५ जनाले एकै पटक ¥याफ्टिङ गरे । झण्डै चार घण्टाको यात्रा भयो । यसको प्याकेज एक छाक सादा खानासहित प्रतिव्यक्ति रु एक हजार ५०० रहेको सञ्चालक सिलवालले जानकारी दिनुभयो ।
मलेखुमा और्लिएपछि बीच रिपोर्ट पुग्न त्रिशूलीमा मोटरबोटको व्यवस्था हुन्छ । उक्त रिसोर्टमै बसेर थप मनोरञ्जन लिन अर्को दुई हजार ५०० थप लाग्छ । अलि सस्तो प्याकेज टेन्टमा बस्दा हुन्छ । त्रिशूलीमा अन्य कम्पनीले विभिन्न गन्तव्यस्थलबाट सयौँलाई ¥याफ्टिङ गराउने गरेका छन् । जलयात्रामा मानिसको मोह पुनः बढेपछि कोरोनाका कारण बन्द भएका यहाँका झण्डै दर्जन होटल, रिसोर्ट धमाधम खुल्न थालेको छ । प्रायः शुक्रबार र शनिबार जलयात्राका लागि सयौँ मानिसको भीड हुन थालेको छ ।
यात्राका क्रममा त्रिशूली रिभरसाइडबाट आएको झण्डै १०० जना जलयात्राको ठूलो टोलीसँग जम्काभेटसमेत भएको थियो । उनीहरु पनि त्यसैगरी रमाइरहेका थिए । राजधानी नजीक, राजमार्गको छेउ, उद्धार गर्न सजिलोलगायत कारणले पनि त्रिशूली सबैको रोजाइमा पर्ने जलविहार क्रिडास्थल रहेको व्यवसायीहरु बताउँछन् । वर्षमा एक लाखभन्दा बढीले यहाँ जलयात्रा गर्ने गरेको अनुभव यहाँका पर्यटन व्यवसायीको छ । विसं २०४२ ताकाबाट नै यहाँ जलयात्रा प्रारम्भ भएको थियो ।
नदीजन्य पदार्थको उत्खननले भने त्रिशूलीको पानीमा असर गरिरहेको छ । जसका कारण जलयात्रीलाई खिन्न बनाउने गरेको छ । शनिबार पनि धमिलो पानीमै जलयात्रा चलेको थियो । पानीभित्र यन्त्र लगाएर गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्दा पानी धमिले हुने र धारसमेत परिवर्तन हुने गरेको छ । यसका साथै सरसफाइ अर्को चुनौतीका रुपमा देखिने गरेको छ । सिद्धलेख गाउँपालिका–४ का अध्यक्ष रामहरि बराकोटी यहाँको पर्यटन विकासका लागि जलयात्रा उत्कृष्ट गन्तव्य हो भन्नुहुन्छ । त्यसैले गाउँपालिकाले त्रिशूली नदीलाई सफा राख्न र जलयात्रालाई व्यवस्थित बनाउने अभियानलाई तीव्र दिएको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २३ कार्तिक २०७७, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा