काठमाडौँ । ६ महिना बन्द भएको नेपालको आन्तरिक हवाइसेवा सोमबारदेखि सुरु भएको छ । आन्तरिक हवाइसेवा खुलेको पहिलो दिन सोमबार त्रिभुवन विमानस्थलमा यात्रुको चाप देखिएको छ ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गतेदेखि बन्द भएको नियमित हवाई सेवा १८० दिनपछि सुरु भएको हो । नेपालमा रहेका नौमध्ये आठ वटा हवाइ कम्पनीले सेवा सुरु गरेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० ले बनाएको कोरोना सम्बन्धि बनाएको प्रोटोकल पालना गर्ने गरि आजबाट सेवा सञ्चालन सुरु भएको बताए ।
वायुसेवा कम्पनीहरुले नियमित सेवा संचालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशतमात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए । विमान सेवा प्रयोग गर्ने यात्रुले पीसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयम् घोषणा पत्र भर्नु पर्ने छ । नयाँ व्यवस्था अनुसार उडान समय भन्दा कम्तीमा दुई घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ भने अत्यावश्यक सामान मात्र लैजान पाइने छ ।
आज देशका विभिन्न भागमा यात्रु लैजान ५० ओटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ । सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकोले उडान अनुमति पाएको छैन ।
तर तारा एयरले नेपालगंज बेस भएर विभिन्न ४ उडान भर्नेछ ।आज उडान अनुमति पाएका बिमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लु लगायत स्थानहरुमा उडान भर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ असोज २०७७, १२ : १०
लेखकबाट थप