काठमाडौँ । युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिइसकेका छन् । खतिवडा राष्ट्रिय सभाको सदस्यबाट अर्थमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रियपात्र थिए । राजनीति व्याकराउण्ड नभएको व्यक्तिलाई अर्थमन्त्री बनाइयो भनेर पाटीभित्र र बाहिरबाट प्रधानमन्त्री ओलीको आलोचना हुँदाहुँदै पनि खतिवडाले अर्थमन्त्रीको बागडोर सम्हाल्ने मौका पाएका थिए ।
राष्ट्रिय सभा सदस्यको अवधि सकिएपछि खतिवडा अर्थमन्त्रीबाट राजीनामा दिएकै दिन सरकारी आवासबाट निजी निवास सरेका छन् । उनको ठाउँमा राष्ट्रिय सभाको सदस्यमा पार्टीका सचिवालय सदस्य बामदेव गौतमलाई ल्याउने नेकपा पार्टीले निर्णय गरिसकेको छ । गौतमको राष्ट्रिय सभामार्फत संसदमा इन्ट्री हुने लगभग पक्का भइसकेको छ ।
यतिमात्र होइन, गौतमले सरकारको दोस्रो वरियतासहित अर्थमन्त्रालयको बागडोर सम्हाल्ने गरी सरकारका जाने इच्छा देखाइसकेका छन् । उनले आफू निकटका नेताहरुलाई अर्थमन्त्रालय सहित दोस्रो वरियता लिएर सरकारमा जाने बताइसकेका छन् । प्रधानमन्त्री केपी ओली इतरका पक्षले गौतमलाई दोस्रो वरियताको क्रममा सरकारमा लानको लागि लविङ गर्न थालेका छन् । पार्टी पनि गौतमलाई सरकारमा लैजाने निर्णय गर्ने अन्तिम तयारीमा रहेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री ओलीलाई झड्का
प्रधानमन्त्री केपी शर्मा ओली डा युवराज खतिवडालाई अर्थमन्त्रीमा कायमै राख्न चाहन्थे । तर ओलीले सोचेजस्तो हुन सकेन । आफ्ना विश्वासिला पात्र खतिवडालाई निरन्तरता दिन नसक्नुलाई ओलीले सहज रुपमा लिएका छैनन् । आफ्नो चाहनाविपरीत पार्टी निर्णय हुँदा ओली झस्केका छन् ।
ओलीले खतिवडाको बर्हिगमनलाई सांकेतिक रूपमा आफूविरुद्धको गतिविधि ठानेका छन् । त्यसमा पनि बामदेव गौतमलाई सरकारका ल्याउनलाई दबाब आउन थालेपछि उनी थप सशंकित बनेका छन् । खतिवडाको बहिर्गमनलाई ओलीले ठूला व्यापारिक स्वार्थ समूहहरू र पार्टीभित्रै शीर्ष नेताले आफूविरुद्ध घेराबन्दी पार्न खोजेको बुझेका छन् ।
खतिवडालाई ओली इतर समूहबाट मात्र होइन नेकपामा योगदान नरहेको भन्दै पार्टीनिकटका अर्थविदहरू र ओलीनिकट केही नेताहरूले पहिलेदेखि रुचाएका थिएनन् । खतिवडाको स्वभाव र शैलीलाई लिएर आलोचना भएकै थियो, तर पनि प्रधानमन्त्री ओलीले काखी च्यापेपछि खतिवडा हालसम्म अर्थमन्त्री हुन पाएका थिए ।
प्रधानमन्त्री आफैँ राख्न चाहन्छन् अर्थमन्त्रालय
प्रधानमन्त्री केपी शर्मा ओली सकेसम्म आफैँले राख्न चाहेका छन् अर्थमन्त्रालय । खतिवडाको राजीनामासँगै त्यसको जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा आइसकेको छ । महामारीको बेला अर्थमन्त्रालय सकभर ओली अरुलाई नदिने सोचाइमा छन् । खतिवडालाई आर्थिक सल्लाहकार बनाएर बालुवाटारबाटै अर्थमन्त्रालय चलाउने सोचाइमा छन् प्रधानमन्त्री ओली । तर नेकपा पार्टीले प्रधानमन्त्रीको यस्तो सोचाइलाई नकार्न सक्ने सम्भावना रहेको छ ।
अमेरिकासँगको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज सम्झौता संसदबाट पारित गर्ने ओलीको चाहना थियो । तर त्यो चाहना तत्काल असफल भएसँगै अमेरिकासँग धेरै तहमा छलफल गरी होल्ड गरिएको छ । एमसीसी होल्ड गर्नमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र डा खतिवडाको योगदान छ । त्यही योगदानलाई उच्च मूल्यांकन गर्दै ओली खतिवडाको उचित व्यवस्थापन गर्न खोज्दैछन् । ओलीले खतिवडालाई आर्थिक सल्लाहकार बनाएर अर्थमन्त्रालय आफैँले लिन खोज्दैछन् तर उनको यो अडानलाई पार्टीले साथ नदिने संकेत देखिएको छ ।
गौतमलाई अर्थमन्त्रालय दिन चाहँदैन ओली सरकार
प्रधानमन्त्री ओली बामदेव गौतमलाई सकेसम्म सरकारमा ल्याउन चाहेका छैनन् । चर्को दबाब झेल्न परेर गौतमलाई सरकारमा ल्याउनै परेको खण्डमा अर्थबाहेक अरु कुनै मन्त्रालय दिने चाहना ओलीको छ । अर्थमन्त्रालय अरु कसैलाई दिन परे ओली आफ्ना विश्वासपात्र नेकपा महासचिव विष्णु पौडेललाई दिने सुरसारमा पनि छन् ।
केही समयपछि प्रधानमन्त्री ओली आफूलाई धेरै गुन लगाउने र पटकपटकको सत्तासंकट टार्नमा सहयोगी भूमिका खेलेका पार्टी महासचिव पौडेललाई अर्थमन्त्रालय दिन सकिने उनले आफू निकटलाई बताइसकेका छन् । सबैसँग मिजासिलो स्वभावका पौडेललाई अर्थमन्त्रालय दिने प्रस्ताव प्रचण्ड–नेपाल समूहबाट पनि स्वीकार्य हुने ओलीको बुझाइ छ । पौडेल आन्तरिक र बाह्य राजनीतिक सन्तुलन मिलाउन सक्ने नेतामा पनि गनिन्छन् । यसअघि अर्थमन्त्रालय चलाएको अनुभव पनि उनीमा छ ।
पौडेल महाधिवेशन र पार्टीकै काममा खटिन चाहेको खण्डमा नेपाल पक्षबाट सुरेन्द्र पाण्डेलाई समेत अर्थमन्त्रालय दिनसक्ने सोचाइमा ओली पुगेका छन् । पाण्डेलाई अर्थमन्त्रालय दिए नेपाल पक्षको साथ रहने ओलीको बुझाइ छ । नेता पाण्डे पछिल्लो समय प्रधानमन्त्री ओलीको खरो आलोचनामा उत्रेका छैनन्, बरु ओलीका केही गतिविधिलाई उनले साथ दिएका छन् ।
बालुवाटारको रणनीति : गौतमलाई टाढा नराख्ने
बामदेव गौतमलाई धेरै नजिक नराखे पनि टाढा राख्न नसक्ने बाध्यकारी अवस्थामा बालुवाटार छ । जतिबेला पनि ‘यू टर्न’ गराएर आफ्नो संकट टार्न सकिने पात्र रहेको चतुर राजनीतिक खेलाडी बामदेवलाई ओलीले नजिकबाट चिनेका छन् । ओलीको सत्तामा जब संकट आउँछ, त्यतिबेला जुनसुकै बेला उनलाई बामदेव चाहिन्छ ।
पछिल्लो पटक बामदेवको छ बुँदे प्रस्ताव ओलीको सत्ता टिकाउमा बुटी बन्यो । त्यसकारण बालुवाटार गौतमलाई धेरै टाढा नराख्ने र धेरै नजिक पनि नल्याउने रणनीतिमा छ । गौतमलाई सकेसम्म सरकारमा नल्याउने, अन्तिम अवस्थामा ल्याउनै परेको खण्डमा सरकार सञ्चालनमै हलचल ल्याउन नसक्ने कुनै मन्त्रालय दिने रणनीति बालुवाटारको छ ।
बालुवाटारका लागि गौतम अहिले पनि ‘पोलिटिकल कार्ड’ हुन्, जसबाट प्रचण्ड र माधव नेपाललाई ‘साइजमा ल्याउने र ब्यालेन्स गर्ने अस्त्र’ बन्न सक्छन् । उनी सरकारमा आए भने सरकार नै असफल हुने डर बालुवाटारलाई छ, त्यसैले सकेसम्म गौतमलाई ओली ल्याउन चाहँदैनन्, तर पार्टीको चर्को दबाब थेग्न सक्ने अवस्थामा ओली छैनन् ।
पार्टीे गौतमलाई सरकारमा ल्याउन चर्को दबाब दिने कसरतमा लागिसकेको छ । एकातिर गौतमलाई छाड्दा समूह कमजोर हुने डर अर्कोतिर सरकारमा भित्र्याउँदा असफल हुने डरमा बालुवाटार रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरोप पुष्टि गर्न सांसदहरूलाई अर्थमन्त्री पौडेलको चुनौती
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
नयाँ बजेट निर्माण गर्न मन्त्रालयगत छलफल सुरु
विचाराधीन विधेयक छिटो टुंग्याउने काम होस् : अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने