काठमाडौं। मानव अधिकारवादी संस्थाहरूले संक्रमणकालीन न्याय आयोगमा स्वतन्त्र र सक्षम पदाधिकारी नियुक्ति गर्न आग्रह गरेका छन् ।
जवाफदेहीता निगरानी समिति, एड्भोकेसी फोरम, एम्नेस्टी इन्टरनेशनल, इन्सेक, ल्याक र जुरी नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै संक्रमणकालीन न्यायमा विश्वसनीयता कायम गर्न स्वतन्त्र र सक्षम नियुक्तिमा जोड दिएका हुन् ।
लामो समयदेखि पदाधिकारीविहीन संक्रमणकालीन न्याय आयोगहरूका पदाधिकारी छनोटका लागि पुनः सिफारिस समिति गठन भई थालनी गरिएको छनोट प्रक्रियालाई हामी मानव अधिकार संस्थाहरूले नजिकबाट अनुगमन गरिरहेका छौं,' जारी विज्ञप्तिमा भनिएको छ, 'पारदर्शी र विश्वसनीय छनोट प्रक्रिया अपनाई संक्रमणकालीन न्यायको गहिरो, विशिष्टिकृत र बहुआयामिक राष्ट्रिय जिम्मेवारी निर्वाध र स्वतन्त्र रूपमा पूरा गर्न सक्ने सक्षम पदाधिकारीको अभावमा संक्रमणकालीन न्याय प्रक्रिया वैध टुंगोमा पुग्न सक्दैन भन्ने हाम्रो दृढ निश्चयलाई पुनः दोहोर्याउन चाहन्छौं ।'
आयोगहरूमा हुने नियुक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूबीच पुनः निराशा नभएर नयाँ आशा र भरोसा जगाउन सक्नुपर्ने उनीहरूले बताएका छन् ।
'संक्रमणकालीन न्याय आयोगहरू लगायतका सार्वजनिक संस्थाहरूमा हुने नियुक्ति दलीय राजनीति, अनुचित दबाव, प्रभाव तथा निहित स्वार्थबाट प्रेरित हुँदा कार्यादेशअनुसारको कार्यसम्पादन हुन नसकी जनमानसमा व्यापक निराशा सिर्जना हुँदै आएको तीतो यथार्थलाई सिफारिस समितिका पदाधिकारी र सम्बन्धित सबैले आत्मसात् गर्न जरुरी छ,' विज्ञप्तिमा भनिएको छ, 'संक्रमणकालीन न्याय संयन्त्रका लागि अब हुने पदाधिकारीको नियुक्तिले सत्य, न्याय र परिपूरणको वैध प्रतीक्षामा रहेका पीडित समुदाय, नागरिक समाज र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूबीच पुनः निराशा होइन, नयाँ आशा र भरोसा जगाउन सक्नुपर्छ ।'
अस्वीकार्य व्यक्तिहरूको चयनबाट आयोगहरूको वैधता गुम्ने र आयोगले प्राप्त गर्ने सहयोग धरापमा पर्न सक्नेमा सचेत रहन पनि उनीहरूले अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १५ : ०१
लेखकबाट थप