पत्रकार रिजालकाे एकान्तवास आउँदै

सूर्यप्रकाश कँडेल

शनिबार, २७ असार २०७७, ११ : ४२
पत्रकार रिजालकाे एकान्तवास आउँदै

चितवन । पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक 'एकान्तवास' छिट्टै सार्वजनिक हुने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई 'लकडाउन डायरी' पनि भनिएको छ ।

'मेरो मात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेटेको छु' लेखक रिजालले भने, 'कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्रो जीवनकालमा भोगेको सबैभन्दा अविष्मरणीय घटना हो, यसलाई कसैले पनि भुल्न सक्दैन ।'

किताबमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएका छन् । हरेक दिनका घटना र गतिविधिका टिपोटलाई उनले निबन्धात्मक रूप दिएका छन् । हरेक सन्दर्भलाई उनले व्याख्या गरी यसका कारण र परिणामको चर्चा गरेका छन् ।

२०६१ सालबाट पत्रकारिता थालेका रिजाल कायाकैरन दैनिकमा सम्पादक छन् । स्थानीय रेडियो, टेलिभिजनमा समाचार प्रमुख भएर काम गरेका उनले राष्ट्रिय मिडियामा पनि लामो समय काम गरेका थिए । युरेका पब्लिकेसनले प्रकाशन गर्ने पुस्तक नारायणगढको सम्पूर्ण किताबमा उपलब्ध हुनेछ ।

तीन सय पृष्ठको किताबको मूल्य ३ सय ७५ राखिएको छ । पुस्तक असार अन्तिमसम्ममा पाठकको हातमा आइपुग्ने युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले बताए ।