एकैपटक चार महत्वपूर्ण मन्त्रालय सचिवविहीन

पत्रपत्रिकाबाट

सोमबार, २६ जेठ २०७७, ०८ : ३४
एकैपटक चार महत्वपूर्ण मन्त्रालय सचिवविहीन

काठमाडौं । सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका चारवटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान गर्न मन्त्री, सचिव तथा अन्य कर्मचारीले रातदिन काम गरेर परिणाम निकाल्नुपर्ने समयमा एकैपटक चार मन्त्रालय सचिवविहीन हुन पुग्दा समस्या सिर्जना भएको छ ।
चारमध्ये लामो समयदेखि सचिवविहीन भएका तीन मन्त्रालयमा नयाँ सचिव नियुक्त नगरिँदा मन्त्रालयका महत्वपूर्ण काम अवरुद्ध भएका छन् । चारवटा मन्त्रालय सचिवविहीन हुँदा पनि नयाँ सचिव पठाउन नसकेपछि सिंगो सरकार र मुख्यसचिवको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न सिर्जना भएको छ । सचिव नहुँदा ती मन्त्रालयले महत्वपूर्ण र नीतिगत कार्य गर्न सकेका छैनन् ।

कानुन न्याय तथा संसदीय मन्त्रालयका सचिव राजीव गौतम आइतबारदेखि सेवानिवृत्त भएपछि कानुन मन्त्रालय सचिवविहीन बनेको छ । अन्य महत्वपूर्ण मन्त्रालयका रूपमा रहेका शिक्षा विज्ञान तथा प्रविधि, श्रम तथा रोजगार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि झन्डै एक महिनादेखि सचिवविहीन छन् ।

मन्त्रालयमा मन्त्री राजनीतिक नेतृत्वका रूपमा रहेका हुन्छन् भने प्रशासनिक नेतृत्वका रूपमा सचिव रहेका हुन्छन् । प्रशासनिक नेतृत्वबिना राजनीतिक नेतृत्वले मात्रै मन्त्रालयको नीतिगत र अन्य दूरगामी महत्व राख्ने निर्णय गर्न सक्दैनन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस