विराटनगर । प्रदेश नं २ मा केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले यहाँका बासिन्दा सन्त्रासमा छन् । यस प्रदेशअन्तर्गतका आठवटै जिल्लामा कोरोना सङ्क्रमित भेटिएको र यसको सङ्ख्यामा गुणात्मक रुपमा वृद्धि भएका देखिँदा बासिन्दामा सन्त्रास देखिएको हो । विसं २०७६ चैत ३० गते यस प्रदेशमा पहिलोपटक पर्सा र बारा जिल्लामा तीन÷तीनजना गरी छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ठीक एक महिनाको अवधिमा १२ गुणाले वृद्धि भई वैशाख ३० गतेसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ७२ पुग्यो ।
प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा चौध जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि अब यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा १२२ पुगेको छ । नयाँ थपिएका कोरोना सङ्क्रमितहरुमा महोत्तरीको दुई, धनुषाको दुई र रौतहटको १० जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
यसैबीच, यस प्रदेशमा आजसम्ममा पाँच हजार ३६९ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये चार हजार २८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ९५८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । यस प्रदेशको १८३ वटा क्वारेन्टाइनमा दुई हजार ६७३, होम क्वारेन्टाइनमा चार हजार ७६४ र आइसोलेशनमा १०६ जना बसेका छन् । सङ्क्रमितमध्ये दुईजना उपचारबाट निको भई घर फर्केका छन् भने अन्यको उपचार भइरहेको छ ।
यस प्रदेशको आठवटै जिल्लाको सिमाना भारतको विहार राज्यसँग जोडिएको छ । अब विहारमा व्यापक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ । विहारको सीमावर्ती ग्रामीण क्षेत्रमा कोरोनाको प्रभाव बढेमा यस प्रदेशको सीमावर्ती गाउँहरु पनि अछुतो रहन नसक्ने डरले मन पिरोलिन थालिएको जनकपुरको पशुपतिनाथ झाको धारणा रहेको छ ।
यस प्रदेशका ठूलो सङ्ख्यामा भारतमा रोजगार गर्न र अध्ययन गर्न भारत पुगेका व्यक्तिहरु फर्कने र उनीहरुमध्ये कतिपय व्यक्ति कोरोना सङ्क्रमित हुनसक्ने डरले पनि यहाँका बासिन्दा चिन्तित हुन थालेका छन् ।
प्रदेशको अस्थायी राजधानी जनकपुरमा शुरुको अवधिमा लकडाउनलाई अलि हलुका रुपमा लिएको, जब जनकपुरमा कोरोना सङ्क्रमितहरु फेला पर्न थालेपछि जनकपुरवासी बढी सतर्क भएको र लकडाउनको पालना गरिरहेको अरुण झाले बताउनुभयो । कतिपयले एकले अर्कालाई कोरोना सङ्क्रमित होला कि मनको भयले यतिखेर घरबाट ननिस्कने, निस्केको अवस्थामा समाजिक दूरी कायम गर्नेतर्फ सचेत भएको देखिएको छ ।
भारतमा दैनिक चार हजारको हाराहारीमा कोरोना सङ्क्रमित थपिने क्रम जारी रहेको छ । भारतको दिल्ली, मुम्बई, अहमदावाद, पञ्जाव लगायतका प्रदेश बढी कोरोनाबाट सङ्क्रमित छन् । सोही कारणले गर्दा भारतबाट आउने नेपाली नागरिकलाई स्थानीय क्वारेन्टाइनमा राख्नका लागि प्रदेश सरकारले थप क्वारेन्टाइन स्थापना गर्ने तयारीमा जुटेको छ ।
यस प्रदेशमा अहिलेसम्म १८३ वटा क्वारेन्टाइन छन् । चार हजार ५७६ जना बस्ने सो क्वारेन्टाइनमा यतिखेर दुई हजार ३८२ जना बसेका छन् । भारतबाट आउने मानिसलाई राख्नका थप क्वारेन्टाइन बनाउनका लागि सरकारले पहल शुरु गरिसकेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताउनुभयो ।
प्रदेश र देशलाई सुरक्षित राख्न सबैको साझा लक्ष्य : मुख्यमन्त्री राउत
मुख्यमन्त्री लालबाबु राउतले भारतसँग खुल्ला सिमाना र उच्च जनघनत्वको कारण प्रदेश नं २ कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउनुभएको छ । कोरोना भाइरसको सन्दर्भमा भिडियोमार्फत आज प्रदेशलाई सम्बोधन गर्दै उहाँले आजको कष्टपूर्ण अवस्थाबाट भोलि सहज अवस्थामा पुग्नका लागि राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी, बुद्धिजीवी, शिक्षक र व्यवसायीलगायत सम्पूर्ण प्रदेशवासीलाई कोरोनाविरुद्ध ऐक्यबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिक आस्था र विचारबाट माथि उठेर कोरोनाले निम्त्याएको सङ्कट समाधान गर्न र देश एवम् प्रदेशलाई सुरक्षित राख्न सबैको साझा लक्ष्य हुनुपर्छ ।” यस प्रदेशमा वीरगञ्जमा रियल टाइम (पिसिआर) मेशिनबाट र जनकपुरधाममा पोरटेवल (पिसिआर) मेशिनबाट कोरोनाको परीक्षण भइरहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले अस्थायी राजधानी जनकपुर र राजविराजमा कोरोना परीक्षणका लागि रियल टाइम (पिसिआर) मेशिन खरिदको प्रक्रिया अगाडि बढाइसकिएको जानकारी गराउनुभयो ।
कोरोना भाइरसको उपचार तथा रोकथामलाई दृष्टिगत गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो, “वीरगञ्जस्थित नारायणी अस्पताल र जनकपुरको प्रादेशिक अस्पताललाई १०÷१० र अन्य जिल्लाका अस्पतालका लागि पाँच÷पाँच थान गरी ५० थान भेन्टिलेटर र प्रत्येक जिल्लामा एक÷एकवटा एम्बुलेन्स र शववाहन खरिदको प्रक्रिया अगाडि बढाइएको छ ।” उहाँले क्वारेन्टाइन, आइसोलेशन र कोभिड–१९ विशेष अस्पताल निर्माणका लागि प्रदेशको मातहतमा रहेको अस्पतालको स्तरोन्नति तथा पूर्वाधार निर्माणका लागि रु पाँच करोडदेखि रु २० करोड उपलब्ध गराइएको जानकारी गराउनुभयो ।
धनुषाको गङ्गुलीस्थित क्वारेन्टाइनको थप सुदृढीकरण, जलेश्वर, कलैया र गजेन्द्रनारायणसिँह अस्पताललाई कोभिड–१९ अस्पताल निर्माणका लागि स्तरोन्नति गर्ने कार्य भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताल, सप्तरीको भारदह अस्पताल र धनुषाको डुमरिया अस्पतालको स्तरोन्नतिको कार्य भइरहेको बताउनुभयो । उहाँले लकडाउनलाई पूर्ण पालना गरी सहयोग गर्न सबैमा आग्रहसमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ जेठ २०७७, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति