काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा एक व्यवसायीमाथि भएको रड आक्रमणको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
रड आक्रमणमा संलग्न रही फरार भएका दीपक बरामु र अजय लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । प्रहरी स्रोतका अनुसार उनीहरुलाई भारतबाट पक्राउ गरी ल्याइएको हो ।
नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षी घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो । उनीमाथि रड आक्रमण भएको घटनामा प्रहरीले संगठित अपराध र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको थियो ।
जसमध्ये निश्चल सुनार र मार्शल भनिने शैलेन्द्र तामाङ पुर्पक्षका लागि कारागार चलान भएका थिए । पक्राउ परेका अर्का प्रतिवादी पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए ।
अर्का दुई प्रतिवादी लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् । टीका भण्डारी र सिजन अधिकारीविरुद्ध भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ माघ २०८१, ११ : ०८
लेखकबाट थप