विपक्षी आक्रामक

पत्रपत्रिकाबाट

शनिबार, २७ बैशाख २०७७, ०७ : २८
विपक्षी आक्रामक

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशनको पहिलो दिन नै विपक्षी सरकारप्रति आक्रामक देखिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको दाबी गरे। नवगठित जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा नै मागे।

सरकारले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै उनीहरूले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आलोचना गरेका हुन्। देउवाले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने बेला सरकारले अलोकतान्त्रिक र संविधानविपरीतका गतिविधि गरेको आरोप लगाए।

‘अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्यमान्यता र संविधानको भावनाविपरीत क्रियाकलापमा व्यस्त रहनु, सांसदको अपहरण हुनुजस्ता अवाञ्छित र आपराधिक गतिविधि कुनै पनि रूपले स्वीकार्य हुन सक्दैनन्’, उनले भने, ‘यी विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सूक्ष्म ढंगले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको छ।’

उनले कोरोनाबाट विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउने दिशामा सरकारले सुरसारै नगरेको भन्दै आपत्ति जनाए। लकडाउनका बेला राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुमा प्रधानमन्त्रीको ‘नियोजित नियत’ लुकेको आरोप उनले लगाए। ‘सबैले कोरोनाविरुद्धको लडाइँमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’, उनले भने। सांसद ‘अपहरण’मा कुनै न कुनै रूपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्य भएको उनको भनाइ थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।