संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १५ : ४४
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन मंगलबार (आज) राति १२ बजेबाट अन्त्य भएको छ । गत माघ १८ गतेबाट सुरु भएको अधिवेशन आजसम्म गरी ६१ दिन रह्यो ।अधिवेशनले ५ अध्यादेश र ५ विधेयक पारित गरेको छ । सरकारले अधिवेशन सुरु हुँदाको दिन दर्ता गरेका सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई प्रतिस्थापन विधेयकका रूपमा पारित गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस १४ सहकारीसम्बन्धी अध्यादेश जारी गरेका थिए । बाँकी ४ अध्यादेश गत पुस २९ गते जारी गरिएको थियो । सरकारले ती अध्यादेशलाई क्रमशः सुशासन प्रवर्द्धनतथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ मा प्रतिस्थापन गरेर संघीय संसद् सचिवालयमा गत माघ १८ गते पेस गरेको थियो । ती प्रतिस्थापन विधेयकलाई गत फागुन २१ गते बसेको प्रतिनिधिसभा बैठकले स्वीकृत गरेको थियो ।

सभामुख देवराज घिमिरेको सचिवालयले अधिवेशनमा ‘भई गरेका काम कारबाहीको संक्षिप्त जानकारी’ शीर्षकमा पठाएको जानकारी अनुसार प्रतिनिधिसभामा दर्ता भएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस मात्रै भयो । सरकारमा रहेको नेपाल लोकतान्त्रिक समाजवादी पार्टी र सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नसक्ने बताएपछि राष्ट्रियसभामा बहुमत नपुग्ने भएर सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले यो अध्यादेशलाई ‘होल्ड’मा राखेका थिए । अब त्यो अध्यादेशलाई नियमित प्रक्रियाबाट विधेयक बनाइ अगाडि बढाउने सत्तारुढ दलबिच सहमति बनेको छ ।

सचिवालयले पठाएको जानकारी अनुसार यस अधिवेशनमा १२ सरकार र एउटा गैरसरकारी विधेयक दर्ता भएका थिए । तीमध्ये ५ विधेयक दुवै सदनबाट पास भएका छन्। ४ विधेयक समितिमा विचाराधीन छन् । तीन विधेयक सभामा प्रस्तुतमात्र भएका छन् । ‘संवैधानिक परिषद् (काम कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट सोमबार मात्रै पारित भएको छ ।

यस अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएका ४ विधेयक प्रतिनिधिसभामा आएकोमा २ विधेयक समितिमा विचाराधीन रहेको र अरू २ विधेयक सभामा छलफलका क्रममा रहेको जानकारीमा उल्लेख छ । अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक सम्बोधन गरेका छन् । त्यस्तै, विभिन्न निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । 

यो अधिवेशन जारी रहेका बेलामा सभाका बहालवाला सदस्य दीपक बोहरा, संविधानसभा सदस्यहरू अब्दुल हमिज सिद्धिकी, रामजीप्रसाद शर्मा, विदुरप्रसाद सापकोटा तथा प्रतिनिधिसभाका पूर्व सदस्यहरू दमननाथ ढुंगाना र प्रेमलाल सिंहको निधन भएकोमा शोक प्रस्ताव पारित भयो ।

 

 

प्रतिक्रिया दिनुहोस