कोरोना संक्रमणबाट बच्न क्वारेन्टाइनमा बसेकाहरुमा देखियो औंलो रोगको संक्रमण

शनिबार, १३ बैशाख २०७७, १८ : ०९

काठमाडौं । क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो पोजेटिभ देखिएको हो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा औंलो परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका डा। देवकोटाले बताए । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् ।

औलो लामखुट्टाको टोकाइबाट हुन्छ । विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ । र, गर्मीयाममा यसको प्रकोप देखिने गरेको छ ।

अब क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा। देवकोटाले बताए । क्वारेन्टाइनस्थल व्यवस्थित बनाउन उनले सबैलाई आग्रह समेत गरे । अहिलेको अवस्थामा गर्भवती महिला र बच्चाहरुलाई लामखुट्टेको टोकाइबाट जोगाउन र व्यक्तिगत तथा वातावरणिय स्वास्थ्यमा ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।