काठमाडौँ । क्षेत्रीय विकास र उन्नतीको लागि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को औचित्य समुद्रभित्र डुबेको घोडा जस्तै माथिबाट हेरिरहनु बाहेक अरु विकल्प छैन भनेर टिप्पणी हुन थालेको धेरै भयो । जब विश्वमा कोभिड–१९(कोरोना भाइरस) ले संक्रमण बढाउन थालेपछि विश्व जगतमै अब कसरी सहकार्य कायम राख्ने प्रश्न उब्जिरहेका बेला सार्क राष्ट्रको भिडियो सम्मेलनले एउटा आशा जगायो । तर त्यो धिपधिपे बत्ति जस्तै बनेको छ । नयाँ कार्यगत एकता नहुँदा कतै त्यो आशाको बत्ति अध्याँरोमै बिलिन हुने हने त हैन । आशंका बढ्दो छ ।
आशाको किरण बनेर आएको त्यो भिडियो सम्मेलन नाममात्रको सावित भएको भनि टिप्पणी हुन थालिसकेको छ । दक्षिण एसियाली मुलुकले एकअर्काको अवस्था भिडियो सम्मेलनपछि कमैमात्र बुझेका छन् । पछिल्लो समय सार्क क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा बढ्दै छ । सबैभन्दा बढि भारतमा यसले आफ्नो फैलावट बढाइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि दक्षिण एसिया यतिबेला कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएको छ । एकअर्को देशसँग समन्वय गर्दै न्यूनीकरण र रोकथामका उपाय अपनाउन उसले आव्हान पनि गरेको छ । अहिले विश्वभर झण्डै १७ लाख कोराना भाइरसका संक्रमित फेला परिसके । एक लाख २ हजार ७४२ को मृत्यु भैसक्यो । विश्वका २१३ देश र क्षेत्रमा संक्रमण फैलिसकेको छ ।
गएको अप्रिल पहिलो साता भएको सार्क भिडियो सम्मेलनको अगुवाई गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा क्षेत्रीय सहकार्य बढाउँदै कोरोना विरुद्ध एकजुट भएर लड्ने बताएका थिए । भारतकै अगुवाईमा सार्क आपतकालिन कोष समेत स्थापना गर्ने प्रस्ताव गरिएको थियो । तर त्यस भिडियो सम्मेलनमा कोषप्रति सबै मुलुकले तत्काल सकारात्मक प्रतिक्रिया दिन सकेका थिएनन् । अन्य मुलुकले कोष सञ्चालन गरेर एकअर्कालाई सहयोग गर्न सक्नेमा सहमति जनाएपनि पाकिस्तानले फरक मत राखेको थियो ।
कोष कसरी सञ्चालन हुन्छ भन्नेतर्फ लक्षित गर्दै उसले सञ्चालनको जिम्मा सार्क सचिवालयलाई जिम्मा दिनुपर्नेमा जोड दिएको थियो । हुन पनि भारत र पाकिस्तानबीच जहिले चहराइरहने घाउ बनेको जम्मु काश्मिर विवादको खाटा अझै बसेको छैन् । भारतले त्यो क्षेत्रमा आफ्नो बर्चश्व कायम गरेपछि पाकिस्तानसँग फेरि कुन बेला युद्ध सुरु हुन्छ भन्न सक्ने अवस्था छैन् ।
त्यसैले पनि पाकिस्तान सार्कको हरेक निर्णयमा भारतको बर्चश्व सहजै स्विकार्न तयार देखिन्न । उता भारत पनि के कम । पाकिस्तानका अघि सँधै आफूलाई सार्क क्षेत्रको बाघ देखाउन उदृत रहन्छ ।
सोही कारण हुनसक्छ राष्ट्र प्रमुख र सरकार प्रमुखको सहभागि हुने भनिएको त्यस भिडियो सम्मेलनमा पाकिस्तानका राष्ट्र वा सरकार प्रमुख सहभागि भएनन् । त्यहाँका स्वास्थ्यमन्त्री उपस्थित थिए । क्षेत्रीय सहकार्यमा आफ्नो विमति नराखेपनि उसले भारतको मातहत रहेर काम गर्न नखोजेको त्यही सहभागिताले प्रष्ट पार्छ । नेपाल, भुटान लगायतले कोषका लागि रकम घोषणा गरेको धेरै पछि शुक्रबारमात्र पाकिस्तानले ३० लाख मिलियन अमेरिकी डलर कोषका लागि घोषणा गर्नुपनि कमजोर क्षेत्रीय एकताको परिणाम हो भनेर विश्लेषकहरु औँल्याउँछन् । पाकिस्तान नेपालसँग नजिक रहन चाहन्छ । पाकिस्तानकै दबाबको कारण सार्क सचिवालय नेपालमा रहेको इतिहास पनि छ ।
नेपालका त्यही सम्भावना बुझ्दै भारतले यतिबेला नेपालसँगको सम्बन्ध सुमधुर पार्न भरमग्धुर प्रयास जारी राखेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्दा होस वा अन्य कुनै अवसर नै किन नहोस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फोन सम्पर्क गरेरै सौहार्दता प्रकट गर्छन् । निकटको छिमेकी यसरी नजिक हुनु नेपालका हितमा फाइदाजनक नै देखिन्छ । तर क्षेत्रीय सम्बन्धमा रहेका पाकिस्तान सहितका अन्य मुलुकका लागि भने यो टाउको दुखाइ बन्न सक्छ ।
कोरोना भाइरससँग लड्न क्षेत्रीय सहकार्य कुन कुन क्षेत्रमा गर्न सकिन्छ ? कसरी कोष सञ्चालन र व्यवस्थापन हुन्छ ? कुन देशले के का आधारमा त्यो कोषबाट बढि फाइदा पाउँछ ? कोषको रकम कहाँ कसको मातहत रहन्छ ? यि सबै प्रश्न हालसम्म पनि अनुत्तरित छन् । यतिबेला अत्यधिक संक्रमण बढेको भारतले मात्रै त्यसको उपयोग गर्ने हो कि भन्ने अर्कोथरी आशंका पनि बढ्न थालेको छ ।
भारत, पाकिस्तान बाहेक अन्य मुलुक भौगोलिक क्षेत्रका हिसाबले अनि आर्थिक क्षेत्रका हिसाबले कमजोर छन् । सार्कका दुई ठूलो देशको मतभेदसँगै आपसी विश्वास बढोत्तरी गर्न अर्को पहल नहुँदा माहामारी नियन्त्रणमा सघाउ पुर्याउने छाँट क्षेत्रीय स्तरमा देखिदैन । यस्तोमा कार्यगत भन्दा पनि मौखिक सहानुभूतीमात्र व्यक्त गर्ने प्रवित्तिले बढावा पाउन सक्ने बढि सम्भावना देखिन्छ । आपत परेका बेला मौखिक सहानुभूतीभन्दा कार्यगत सहयोगको बढि मूल्य हुन्छ । जुन सार्क मुलुकमा देखिएको छैन् ।
सार्क मुलुकमा कोरोना संक्रमण
दक्षिण एसियाली मुलुक अर्थाथ सार्क क्षेत्रमा १३ हजार ५६३ जना कोरोनाबाट संक्रमति भएका छन् । यस क्षेत्रमा हालसम्म ३६९ को ज्यान कोरोनाले लिइसकेको छ । जस अनुसार भारतमा ७ हजार ६०० जना संक्रमित मध्ये २४९ को मृत्यु भएको छ । त्यस्तै पाकिस्तानमा ४ हजार ७८८ संक्रमितमध्ये ७१ ज्नाको मृत्यु भएको छ । अफगानिस्तानमा ५२१ संक्रमितमध्ये १५ को ज्यान गएको छ । बंगलादेशमा ४२४ संक्रमितमध्ये २७ ले मृत्यु वरण गरिसकेका छन् । त्यसैगरी श्रीलंकामा १९७ संक्रमितमध्ये ७ जनाको मृत्यु भएको पछिल्लो तथ्याङ्क छ । नेपाल, भुटान र मालदिभ्समा संक्रमित रहेपनि अहिलेसम्म कसैले मृत्यु वरण गरेका छैनन् । मालदिभ्समा १९ जना, नेपालमा ९ जना र भुटानमा ५ जनामा कोरोना भाइरसको संक्रमण रहेको अवस्था छ । सार्क क्षेत्रका अधिकांश मुलुकले लकडाउन नीति अपनाएका छन् । नेपाल र भारतमा लकडाउन चलेपनि अत्यावश्यक वस्तुको ढुवानी र चोरीछिपी मानिस भित्रने क्रमले चुनौती थपिएकै अवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सार्क बडापत्रको ४० वर्षको अवसरमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले दिए शुभकामना
सार्कलाई निरन्तर सहयोग रहने संयुक्त राष्ट्रसंघको आश्वासन