कोरोना भाइरसको त्रास : घरको ढोकामै साबुन पानी

पत्रपत्रिकाबाट

बुधबार, ०५ चैत्र २०७६, ०७ : ०६
कोरोना भाइरसको त्रास : घरको ढोकामै साबुन पानी

मोरङ । ‘यहाँ बाल्टिनमा पानी, जग र साबुन राखिदिएको छु,’ घरमा आउनेलाई सुकमाया चौधरी भन्ने गर्छिन्, ‘पहिला हातखुट्टा र मुख धुनू, अनि भित्र पस्नू ।’तीन दशकदेखिकी महिला स्वास्थ्य स्वयंसेविका मोरङको महेशपुरकी ५४ वर्षीया चौधरी पाहुनालाई मात्रै होइन, परिवार र छिमेकीलाई पनि साबुन–पानीले हातमुख धुन लगाएपछि मात्र घरभित्र जान दिन्छिन् ।

व्यक्तिगत सरसफाइको यो काइदा उनले सानी छँदा बुबाआमा र छरछिमेककाले गरेको देखेकी थिइन् । बस्ती बढ्दै जाँदा र सहरीकरणको हावाले छुँदै जाँदा यो चलन हराएको थियो । अहिले त्यही पुरानो चलन उनले कोरोना भाइरसविरुद्धको सतर्कतास्वरूप आफू जोगिन र अरूलाई पनि जोगाउन प्रयोगमा ल्याएकी छन् ।

‘ऊबेला घरको द्वारमा यसैगरी बाल्टिनभरि पानी र जग राख्ने चलन थियो, कतैबाट आउँदा हातखुट्टा तथा मुख पखालेर मात्र भित्र पस्थे,’ उनले भनिन्, ‘हाटबजारमा गइन्छ, दस ठाउँ टेकिन्छ, दस जनालाई भेटिन्छ, बाहिरका फोहोर र कीटाणु घरभित्र नपसुन् भनेर यसो गर्ने चलन थियो ।’ चौधरीका अनुसार बिर्सिसकेको पितापुर्खाको संस्कृतिलाई कोरोना भाइरसको त्रासले सम्झाएको छ । ‘आफ्नो स्वास्थ्यका छरछिमेकलाई यसैगरी द्वारमा एक डोल (बाल्टिन) पानी, जग, मग र साबुन राख्न लगाइरहेको छु,’ उनले भनिन्, ‘घर बाहिरै धारा र चापाकल भएकाले एउटा साबुन राखिदिए पुग्छ ।’

अहिलेसम्म कुनै पनि निकायबाट यसबारे बस्तीवासीले प्रशिक्षण र जानकारी नपाएको चौधरीले बताइन् । ‘सञ्चारमाध्यमबाट यो भाइरसबारे थाहा पाएको हुँ,’ उनले भनिन्, ‘जति मैले ज्ञान पाएकी छु, त्यसअनुसार गरिरहेकी छु । अरूलाई पनि गर्न लगाइरहेको छु, हातखुट्टा धोएर मात्र घर छिर्ने र ओछ्यानमा बस्ने सल्लाह दिइरहेको छु ।’
बस्तीमा कसैलाई रुघा, ज्वरो र झाडापखाला लागेमा अस्पताल पठाउने गरेकी छन् ।

‘कोरोना भाइरसकै संक्रमण नभए पनि अहिलेको बेला रुघा लागेमा लापरबाही गर्नुहुन्न भनेर सम्झाउँछु,’ उनले भनिन् । बितेका दुई साताको अवधिमा उनले आफ्नो बस्तीमा सामान्य रुघा लागेका एक नाबालकसहित चार जनाले अस्पतालमा उपचारपछि निको भएर घर फर्केको बताइन् । चौधरीका अनुसार बस्तीका सबै जना सफा र स्वस्थ छन् भने हात मिलाउँदा र छुँदा पनि समस्या हुन्न, मास्क पनि लगाउनु पर्दैन । ‘हात जोडेर हिँड्दैमा समस्याको समाधान हुन्न, भेट हुने दुवै व्यक्तिको हात सफा छ, स्वस्थ छन् भने हात मिलाउँदैमा केही फरक पर्दैन,’ उनले भनिन् ।

उक्त बस्तीका नाउ ५५ वर्षीय लखिराम ठाकुरले कपालदाह्री काट्दा व्यक्तिपिच्छे पानी र ब्लेड फेर्ने गरेको तथा हात धुने गरेको बताए । ‘ंभाइरसको डरले हाम्रो व्यापार पनि कम भएको छ,’ उनले भने, ‘तर नाउहरू पनि जानकार भएकाले ग्राहक डराउनु पर्दैन ।’कटहरी–१, जमटोकी बस्तीकी ५२ वर्षीया गौडा माझीले अचेल हरेक दिन पक्की घरको सतहमा पोछा लगाउने र माटोको आँगनलाई गोबरले लिपपोत गरिरहेको बताइन् । ‘उहिलेदेखि कतैबाट आउँदा हाम्रो परिवारजनमा हातखुट्टा धोएर मात्र घरमा छिर्ने बानी छ,’ उनले भनिन्, ‘यसले घर, फर्निचर तथा ओछ्यान पनि सफा रहन्छ, राति सुत्ने बेलामा हातखुट्टा पनि चिलाउँदैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।