एजेन्सी । लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा अपराजित यात्रा जारी राखेको छ । उपाधि दौडमा पकड जमाएको लिभरपुलले बिहिबार राति भएका खेलमा वल्भ्सलाई उसकै मैदानमा २–१ गोलले हरायो । यससँगै लिभरपुलले २३ खेलसम्म अपराजित छ । जसमा लिभरपुलले २२ जित र एक बराबरी नतिजा निकालेको छ ।
जितसँगै शीर्ष टोली लिभरपुलको २३ खेलबाट ६७ अंक छ । लिभरपुलले दोस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीलाई १६ अंक पछाडी पारेको छ । एक खेल बढी खेलेको सिटीको २४ खेलबाट ५१ अंक छ । हारसँगै २४ खेलबाट ३४ अंक बनाएको वल्भस सातौ स्थानमा यथावत छ ।
लिभरपुलको जितमा जोर्डन हेन्डरसन र रोबर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोली वल्भ्सका राहुल जिमिनेजले एक गोल फर्काएका थिए । लिभरपुलले आठौं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको गोलबाट अग्रता लिएको थियो । हेन्डरसनले टेन्ट्र एलेक्सन्डर अर्नाेल्डको कर्नर पासमा हेड गोल गरेका थिए ।
त्यसपछि वल्भ्सले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्कायो । ५१औं मिनेटमा राहुल जिमिनेजले एडमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८४औं मिनेटमा फिर्मिनोले जोर्डन हेन्डरसनको पासमा गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १० माघ २०७६, ०८ : ५५
लेखकबाट थप