काठमाडौ । अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् । हामीमाथि अन्याय हुँदा पनि सुनुवाई हुँदैन भने आत्मदाह गर्न बाध्य हुनेछौं, पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन् । दुर्गम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका ३० जना ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएकामा अदालतको आदेशले खारेजीमा परेपछि परीक्षा दिनबाट वञ्चित भएका थिए । उनीहरुले सीटीइभीटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको थियो ।
पत्रकार सम्मेलनमा छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन् । सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न बाध्य हुने उनको भनाई थियो ।
पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सिटिईभिटी र कलेजबीचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको जानकारी दिइन् । उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षामन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैर जिम्वेवारीपूर्ण जवाफ दिएको खुलाइन् । उनले भनिन्, ‘हामीलाई उल्टै गल्ती गरेको भनियो । राज्यको जिम्मेवार अधिकारीले हामीलाई थप पीडित बनाउनुभयो ।’
२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन् । २२ साउनमा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिएपनि २०७६ सालमा कलेज खारेज भएको बताइन् । नर्सिङका छात्राहरुले दिन लागेको परिक्षा सिटिईभिटीले रोकेको उनले खुलाइन् । सिटिभिटीसँग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको त्यस्तै रहेको प्रेमिका शाहीले बताइन् ।
शाहीले आफूहरुले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिएपनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन् । उनले भनिन्, अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत बाध्य हुनेछौं । विद्यार्थीको हक हितमा सकृय संगठनहरुले पनि आफूहरुलाई सहयोग नगरेको गुनासो गरिन् । शाहीले विद्यार्थी संगठनहरुलाई गम्भीर ढंगले समस्याको समाधान गरिदिन आग्रह गरेकी छिन् ।
पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए । उनीहरुले आँसु बगाउँदै आफूहरुलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०७६, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली राजदूतावास अगाडि एक व्यक्तिद्वारा आत्मदाह