निर्मला पन्त हत्या प्रकरण

हत्यारा जहाँ भए पनि पक्राउ पर्ने गृहमन्त्रीको दाबी

सफल खबर संवाददाता

बुधबार, २३ माघ २०७५, १६ : ३०
हत्यारा जहाँ भए पनि पक्राउ पर्ने गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी जहाँ भए पनि पक्राउ पर्ने दाबी गरेका छन् । बुधबार संसदमा सांसदहरुले सोधेको प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।
सांसदहरुले निर्मला पन्तको हत्या घटनामा सरकारले जारी राखेको अनुसन्धानका बारेमा व्यवस्थापिका संसदको विशेष प्रश्नोत्तर सत्रमा गृहमन्त्रीको जवाफ माग गर्दै प्रश्न गरेका थिए । सांसदहरुले सरकारले अहिलेसम्म अपराधी पत्ता नलगाएकोमा आपत्ति व्यक्त गरे ।

संसदमा कसले के भने ?
सांसद डिला संग्रौला : निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राऊ गरी मुद्दा किन चलाइएन ? देशभरी बलात्कार र हत्या हिंसाका श्रृंंखला कहिले रोकिने हो ? निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना भयो । कुनै पनि बलात्कारको घटनामा लुगा मुख्य प्रमाण हुन्छ । प्रमाण लोप गराउने काम सरकारले किन गर्यो ? निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारको कुर्सीमा छन् भनेर आरोप लगाइएको छ, कहाँ छन् जवाफ चाहियो ।

गृहमन्त्री थापा : निर्मला हत्या प्रकरण निश्चय पनि पाशविक हत्याकाण्ड र जघन्य अपराध थियो । यस बारेमा सदनमा जानकारी गराइसकेको छु । यस सम्बन्धमा अनुसन्धान जारी छ । सरकार यो विषयमा अत्यन्तै गम्भीर छ । अनुसन्धानको कार्य अगाडि बढको छ । माननीय सांसदले उठाउनु भएको योसँग सम्बन्धित व्यक्तिलाई किन कार्वाही गरिएन भन्ने विषयमा सम्बन्धित निकाय, विशेषगरी अनुसन्धानमा संलग्न लापर्वाही गर्ने प्रहरीलाई कार्वाही गरिसकेको छ ।
कुनै पनि अपराधी या अपराधसँग व्यक्तिलाई राज्यले कुनै छूट दिन सक्दैन । अपराधीलाई कानुनको कठघरामा ल्याउने नै छ । यो चासो र चिन्ता जाहेर गरेको छ सदनले । हामीले अनुसन्धान तीब्र गतिमा अघि बढाएका छौं । महिलासंग सम्बन्धित ९६ प्रतिशत घटनामा अपराधीलाई कानुनको कठघरामा ल्याउन सफल भएको छ । ४ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याउन सरकार प्रयासरत छ ।
सरकारले, प्रहरीले अपराधी पत्ता लगाउन केही समय लिन्छ । यो प्रकरणले पनि केही समय लिएको छ । तैपनि सरकार अपराधीलाई कानुनको कठघरामा ल्याउन प्रयासरत छ । अपराधी बालुवाटारमा छन कि सिंहदरबारमा छन भन्ने प्रश्न उठाएका छन्, जहाँसुकै भएपनि पक्राउ पर्ने र पीडितले न्याय पाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

सांसद गगन थापा : रक्षा तथा उपप्रधानमन्त्रीले सार्वजजिनकरुपमा बोल्दै निर्मला पन्तको हत्याको अपराधी ५ दिन भित्र हत्यारा पक्राउ हुन्छन भनेर ५ महिना अघि भन्नुभएको थियो । सरकारका उपप्रधानमन्त्रीले भन्नुभएको कुरालाई गृहमन्त्रालयको के भनाई छ ? यो कुरा गृहमन्त्रीलाई थाहा छ कि छैन ?

गृहमन्त्री थापा : रक्षामन्त्रीले के कसरी भन्नु भएको हो मलाई थाहा छैन । तर वहाँले यो भन्नुभएको भए राम्रो नियतले अपराधी पक्राउ पर्नुपर्छ भन्ने आशयले भन्नु भएको हुनसक्छ । तर हामीले यो घटनामा विशेष अनुसन्धान गरेका छौं । यो अनुसन्धानका क्रममा कतिपय अवस्थामा प्रहरीले संदिग्धहरुलाई पक्राउ पर्ने र तिनीहरुको यो वा त्यो सम्बन्ध देखिने अवस्थामा अनुसन्धानमा तीब्रता देखेर सोही अनुरुप छिटै अपराधी पक्रिन्छ भनेर रक्षामन्त्रीले भन्नुभएको होला भनेर भन्न सकिन्छ ।

सांसद दिलेन्द्र बडु : ती बाँकी ४ प्रतिशत कहिले पक्राउ पर्छन ? अनसनमा बस्नेलाई किन धम्क्याइन्छ ?

गृहमन्त्री थापा : अनसनमा बसेका या न्यायका लागि आन्दोलन गर्नेहरुलाई गृहबाट धम्क्याउने प्रश्नबारे हामीलाई सूचना छैन । आन्दोलन गर्ने अधिकार जनताको हो । पीडितले न्यायको आवाज उठाउन सक्छन् । गृहको कुनै निकाले धम्क्याएको जानकारी छैन । त्यसो भएको हो भने हामी कार्वाही गर्नेछौं । शतप्रतिशत कहिले हुन्छ भन्नेमा आशावादी बनौं । यो बीचमा सयौं अपराधीलाई कानुनको कठघरामा ल्याएका छौं । सुन प्रकरणमा पनि दुईचारदिन भित्र उनीहरु कानुनको कठघरामा आएका छन् । आशा गरौं, हामी शतप्रतशत अपराधी नियन्त्रण गर्न सफल हुनेछौं ।

सांसद राजेन्द्र लिंग्देन : गृहमन्त्रीज्यूले नै अपराधी पत्ता लागिसक्यो भन्ने जवाफ आएको थियो । तर अहिलेसम्म अपराधी त के अनुसन्धान नै कहाँ पुगेको छ थाहा छैन । शंकाश्पदलाई पक्रिँदैमा अपराधी पत्ता लाग्यो भनियो । अभियोग र बयान साबिती गर्दैमा अपराधी हुँदैन । त्यसलाई प्रमाणले पुष्टि गर्नु पर्दैन ?

गृहमन्त्री थापा : मैले शुरुमा निर्मला प्रकरणबारे सदनलाई जानकारी दिँदा गृहलाई प्राप्त सूचनाका आधारमा अवगत गराएको थिए । राज्यले शुरुदेखि नै पहलकदमी लिएको थियो । शुरुदेखि नै सिआईबीको नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो । त्यसले प्रेषित गरेको सूचनाका आधारमा सदनमा जानकारी गराएको थिएँ । तर छानबीनमा अरु कुरा प्रमाणित नभएपछि मुक्त गरिएको थियो । निश्चय पनि तलबाट सूचना आउँदा अधुरो हुन सक्ने भएकोले यसमा राज्यले गम्भीरता लिएको छ ।

प्रतिक्रिया दिनुहोस