चितवनमा यसरी मनाईयो २८५५ औँ सोनाम ल्होछार

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०७५, १८ : ५९
चितवनमा यसरी मनाईयो २८५५ औँ सोनाम ल्होछार

चितवन । साँस्कृतिक पर्व २८५५ औँ सोनाम ल्होछार तामाङ्ग समुदायले चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । भरतपुर, पुर्वि चितवनको रत्नगर, पश्चिम चितवनका विभिन्न स्थानमा साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । 
भरतपुर नगर तामाङ्ग समाजले भरतपुर ११ भोजाडमा रहेको छेच्यु थर्पलिंग गुम्बामा साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा तामाङ्ग भुेसभुसासहित हजारौँको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांम्सद कृष्णभक्त पोख्रेलले सोनाम ल्होछारको शुभकामना दिँदै यस्ता चाडपर्वले सवै जातजाती, समुदायबीच एकआपसमा भातृत्व कायम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली समाजमा सयौँ जात जाती, भाषा, संस्कृति रहेकाले एकले अर्काको धर्म संस्कार, संस्कृति सवैले मनाउनुपर्नेमा जोड दिनुभयो ।  
शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको मुलुकमा नेपाली संस्कृतिको बगैँचा रहेकाले यसलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताउँदै पोख्रेलले शान्तिपुर्ण समाज निर्माणमा सवै मिल्नु पर्ने बताउनुभयो । 
कार्यक्रममा नेपाल तामाङ्ग घेदुंग चितवनका निवर्तमान अध्यक्ष मोहन लामाले संस्कार, संस्कृति नयाँ पुस्ताले सम्हाल्दै अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले चाडपर्वलाई राज्यले समान दृष्टिकोणले हेर्नुपर्ने भन्दै ल्होछारको विदा कटौति गरेर संघिय सरकारले राम्रो नगरेको बताउनुभयो । प्रदेश ३ मा भए पनि सार्वजनिक विदा दिएर केन्द्र सरकारले लगाएको चोटमा प्रदेश सरकाले मल्हम लगाएको लामाको भनाई छ । 
कार्यक्रममा लोक तामाङ्ग, राम बहादुर योञजन, पंच बहादुर तामाङ्ग, ओमराज योञ्जनलाई दोसल्ला ओढाई सम्मान गरीएको थियो भने दोंग समाज, पाख्रिन समाज र कर्म जिम्बालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा गायक सिवम लामा, सेलो गायक जेवि जिम्बा लगायतले दर्जनौ गीत प्रस्तुत गरेका थिए भने विभिन्न समुह, क्लवले २ दर्जन बढी नृत्य प्रस्तुत गरेका थिए । गायक सिवम लामाले छेच्यु थर्पलिंग गुम्बा निर्माणका लागि व्यक्तिगत ५० हजार नगद सहयोग गर्नुभएको थियो । 
कार्यक्रम परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरे । यस्तै चित्रकला प्रतियोगता लगायतका अन्य विभिन्न प्रतियोगिता पनि आयोजना गरिएको समाजका सचिव सुर्य प्रकाश लामाले बताउनुभयो । 
प्रतिमान थिंग, अधिवक्ता अजय तामाङ्ग, बुद्धि ग्लान, खेन्पो दावा तामाङ्ग, राज बहादुर बोम्जन लगायतले मन्तव्य राख्नुभएको कार्यक्रम समाजका अध्यक्ष गंगालाल तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस