पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०७५, १४ : २५
पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच शुक्रबार पेखारामा भेटवार्ता भएको छ । 
विगत केही दिनयता पोखरमा बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाह र अध्यक्ष थापाबीच बिहान नौ बजेदेखि सवा दश बजेसम्म भेटवार्ता भएको हो ।
पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष थापा पोखरा १७ दोबिल्लास्थित माउण्ट ग्लोरीमा पुगेका थिए । भेटमा पूर्व राजा शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र घटनाक्रमहरुका बारेमा अध्यक्ष थापासँग चासो राखेका राप्रपाका नेता राजाराम वर्तोलाले जानकारी दिए ।  साथै देशका अन्य समसामयिक विषयमा पनि चासो राखेको उनले बताए ।

त्यस्तै पूर्वराजाले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रयासका बारेमा भइरहेको प्रगतिबारे समेत सोधेका थिए । 

‘उहाँहरु बीच ब्रेकफस्टसँगै लामो कुराकानी भएको थियो । जसमा हिन्दु राष्ट्रको प्रसङ्ग, धर्म परिवर्तनको चर्चा र पार्टीहरुका गतिविधिप्रति कुराकानी भएको छ,’ वर्तोलाले भने । 

भेटमा राप्रपा अध्यक्ष थापाले राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीलगायतको माग राख्दै फागुन ७ गतेदेखि जनसंघर्ष गर्न लागेको जानकारी गराएका थिए । उनले पार्टी एकीकरणमा देखिएको समस्या र हुनसक्ने सम्भवानाबारे पनि जानकारी गराएको वर्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस