इपिएल : चितवन टाईगर्समा आयरल्याण्डका अलराउण्डर स्टिर्लिङ अनुबन्ध

सफल खबर संवाददाता

विहीबार, ०६ मंसिर २०७५, १८ : ३७
इपिएल : चितवन टाईगर्समा आयरल्याण्डका अलराउण्डर स्टिर्लिङ अनुबन्ध

चितवन । चितवन टाईगर्सले आयरल्याण्डका अलराउण्डर पाउल स्टिर्लिङलाई अनुबन्धन गरेको छ । यही मंसिर २२ गतेदेखि सुरु हुन लागेको टिभिएस एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)का लागि चितवनले विकेट किपर तथा दाहिने हाते स्टिर्लिङलाई अनुबन्धन गरेको हो । उनी इपिएल सुरु हुन केही दिन अघि नेपाल आईपुग्ने चितवन टाईगर्सका एसिसटेन्ट म्यानेजर जस्करन भगतले जानकारी दिए । 

आयरल्याण्डका ओपनिङ व्याट्सम्यान स्टिर्लिङ अफ ब्रेक बलर पनि हुन् । उनले आयरल्याण्डबाट एक टेष्ट, एक सय एकदिवसीय अन्तराष्ट्रिय र ५२ ट्वान्टी–ट्वान्टी अन्तराष्ट्रिय खेलिसकेका छन् । स्टिर्लिङसंग ६५ प्रथम श्रेणी, १ सय ८० लिस्ट ‘ए’ मान्यता प्राप्त खेल खेलेको अनुभव पनि छ । 

“गत सिजन हामीले चाहे जस्तो हुन सकेको थिएन । त्यसको आधारमा हामीले पाउल स्टिर्लिङ जस्ता अनुभवि खेलाडीको आवश्यकता महसुस गरेका थियौं, उनको आगमनले टोलीलाई नयाँ जोश दिने र लक्ष्यमा पुर्‍याउने हामीले विश्वास लिएका छौं”–चितवन टाईगर्सका मालिक किशोर भट्टराईले भने । उनले बाँकी दुई विदेशी खेलाडीका लागि विश्वस्तरीय खेलाडी ल्याउने प्रयास पनि जारी रहेको बताए । 

चितवन टाईगर्सले यसअघि इङल्याण्डका प्रतिभाशाली युवा खेलाडी म्याक्स होल्डेन र न्यूजील्याण्डका जेम्स फुलरलाई इपीएलका लागि घोषणा गरेको थियो । तर होल्डेन इङल्याण्डको ‘ए’ टोलीमा छनौट भएकोले व्यस्त तालिका र पारिवारिक कारणले आउन नसक्ने भएको चितवन टाईगर्सका मालिक भट्टराईले बताए । 

दीपेन्द्र सिंह ऐरी मार्की प्लेयर रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, दीलिप नाथ, सन्दीप सुनार, भिम सार्की, ललित सिंह भण्डारी, कमल सिंह ऐरी, शाहब आलम लगायतका खेलाडी रहेका छन् । 

गतवर्ष खेलेको टोलीबाट चितवनले सुवास खकुरेल, सुनाम गौतम र योगेन्द्र सिंह कार्कीलाई रिलिज गर्दै उनीहरुको स्थानमा आदिल खान, इशान पाण्डे र सागर ढकाललाई लिएको छ ।  

प्रतिक्रिया दिनुहोस