अन्तर्राष्ट्रिय बाल दिवस :

चितवनमा अझै तीन हजार बालश्रमिक

सफल खबर संवाददाता

मंगलबार, ०४ मंसिर २०७५, १७ : १८
चितवनमा अझै तीन हजार बालश्रमिक


चितवन । आज अन्तर्राष्ट्रिय बाल दिवस । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघले बाल अधिकारसम्बन्धी महासन्धी पारित गरेको हुनाले यस दिन अन्तर्र्रािष्ट्रय बाल अधिकार दिवस मनाइएको हो । बालबालिकाको चासोका विषयलाई संघको ‘चार्टर’मा अटाएर विश्वभरका केटाकेटीका सोच र उद्देश्यलाई समर्पित गरी यो दिवस मनाउन थालिएको हो ।
चितवनमा पनि विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । तर अझै चितवनमा झन्डै ३ हजार बालश्रमिक रहेका तथ्यांक छ । विगत २८ वर्षदेखि चितवनमा रहेर बालबालिकाको क्षेत्रमा काम गरेका दयाराम कँडेलले भने, ‘चितवनमा सबैभन्दा बढी बालश्रमिक घरेलु काममा छन् ।’  उनका अनुसार भरतपुर महानगरपालिकामा मात्रै २ हजारको हाराहारीमा बालश्रमिक छन् । नेपालको संविधानअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकालाई आफूखुसी श्रमिक बनाएर राख्न पाइँदैन । 
भरतपुर महानगरपालिकाको सबैभन्दा बढी १, २, १० र ३ नं वडामा बालश्रमिक छन् । युथ क्लबका कार्यकारी निर्देशकसमेत रहेका कँडेलले चितवनमा छोटो दुरीका यातायातका साधनहरुमा, ग्यारेजहरुमा, इट्टाभट्टाहरुमा, कुखुराका फार्महरुमा बालश्रमिक बढी छन् । कृषि क्षेत्रमा पनि बालश्रमिक रहेको उनले बताए । उनले भने, ‘चितवनमा १५५ जनाको हाराहारीमा बालश्रमिक कृषि क्षेत्रमा रहेका छन् ।’

चितवनका ३ वडा बालश्रम मुक्त 
चितवनका ३ वटा वडा बालश्रम मुक्त भएका छन् । रत्ननगर नगरपालिकाको ३ नं र १६ नं वडा र भरतपुर महानगरपालिकाको ९ नं वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । भरतपुर महानगरपालिकाको एक वर्षभित्र महानगरका सबै वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने लक्ष्य लिएको छ । महानगरले प्रत्येक वडामा पत्र नै पठाएर एक वर्षभित्र बालश्रम मुक्त वडा र दुई वर्षभित्र बालमैत्री वडा घोषणा गर्न निर्देशन दिएको छ । भरतपुर महानगरको वडा नं १४ लाई यही मंसिरभित्र बालश्रम मुक्त वडा घोषणा गर्न गृहकार्य थालिएको छ । 

लुकाएरै बालश्रमिक 
कार्यकारी निर्देशक कँडेलका अनुसार अझै पनि लुकाएर, पढाइदिने बहाना बनाएर घरमा बालबालिकालाई रातदिन काममा लगाइरहेका छन् । २०४८ सालदेखि बालबालिकाको क्षेत्रमा काम गरेका कँडेलले भने, ‘आफ्नो घरमा खाने अन्न छैन, यहाँ बसेछ खान पाएको छ भन्ने कल्याणकारी सोचले गर्दा बालश्रम मुक्त हुन सकेको छैन ।’ उनका अनुसार बालश्रम कानुनमा पनि अपराध हो, सामाजिक रुपमा पनि अपराध हो तर समाजले बालश्रमिकलाई पचाइरहेको छ । कानुन कार्यान्वयनमा फितलो भएर पनि बालश्रम मुक्त हुन सकेको छैन । सामाजिक सचेतना, कानुन कार्यान्वयन, गरिबी निराकरण, आयआर्जनमा वृद्धि गर्न सके बालश्रम मुक्त हुने कँडेलको भनाइ छ । 

केके पर्छन् बालअधिकारभित्र 
बाल अधिकार अन्तरगत बाँच्न पाउने, खान पाउने, स्वच्छ पानी पिउन पाउने, शिक्षा, स्वस्थ्य पाउने, सुरक्षा र स्वतन्त्रता पाउने, पहिचान र खेल्न पाउनेलगायतका अधिकारहरु पर्दछन । तर पनि कैयन बालबालिकाहरुको सामान्य रोगकै कारण मृत्यु भइराखेको छ । कैयन बालबालिकाहरु शिक्षाबाट अझै पनि वञ्चित छन, खाना खान नपाएर कैयन बालबालिकाहरु कुपोषणको शिकार भइराखेका नै छन् ।  द्वन्द्वको चपेटामा परेर कैयन बालबालिकाहरु शान्त वातावरणका लागि छटपटाइराखेका छन् ।

प्रतिक्रिया दिनुहोस