नारायणी नदी किनारमा यस्तो देखियो हरिबोधिनी एकादशी (फोटो फिचर)

सफल खबर संवाददाता

सोमबार, ०३ मंसिर २०७५, १५ : ४६
नारायणी नदी  किनारमा यस्तो देखियो हरिबोधिनी एकादशी (फोटो फिचर)

चितवन । हरिबोधिनी एकादशी वर्षमा पर्ने २४ एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ ।
यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुरा उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।
हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् । यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा मेला लाग्दछ । बुढानिलकण्ठलगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ ।
आज पवित्र देवघाटधाममा पनि विष्णुको प्रतीकको रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधनी एकादशी मनाइएको छ । नारायणी नदी किनारमा पनि तुलसीको विवाह गरी हजारौँ संख्यामा आएका भक्तजनहरुले हरिबोधनी एकादशी मनाएका छन् । देवघाटमा पनि हजारौं संख्यामा भक्तजनहरु उपस्थित भएका थिए । 


 

प्रतिक्रिया दिनुहोस