प्रकाश दाहालको स्मृति सभामा भक्कानिए प्रचण्ड, आँशु झारिरहिन् सीता

सफल खबर संवाददाता

सोमबार, ०३ मंसिर २०७५, १३ : २५
प्रकाश दाहालको स्मृति सभामा भक्कानिए प्रचण्ड,  आँशु झारिरहिन् सीता

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको स्मृतिमा कार्यक्रमको आयोजना गरिएको छ । ललितपुरको खुमलटारस्थित निवासमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको हो ।

छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रचण्ड भक्कानिएका छन् । प्रचण्डले गला अवरुद्ध पार्दै प्रकाशको स्मरण गरेका थिए ।  प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे ।

उनले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् । प्रकाश परिपक्व हुँदै गएको बेला असामयीक निधन भएको र त्यसबाट ठूलो क्षति पुगेको प्रचण्डले बताए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।

कार्यक्रम अवधिबर प्रकाश दाहालकी आमा सीता दाहालका आँखाबाट आँशु बगिरहेको थियो । उनलाई सम्झाउनका लागि पुत्रि रेणु दाहाल उपस्थित थिइन् । त्यस्तै, प्रकाश पत्नी तथा खानेपानी मन्त्री बिना मगर पनि भावविह्वल बनेकी थिइन् ।

कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए । त्यस्तै प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक गरिएको थियो ।

गत वर्ष आजकै दिन प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको थियो । ज्ञानुको क्यान्सरका कारण २ वर्षअघि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस