संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

रासस

सोमबार, ०८ बैशाख २०८२, १० : २३
संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल

मुस्ताङ । यहाँको थासाङ गाउँपालिका-२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।

धौलागिरि हिमालको हिउँबाट बग्ने पानीको स्रोतले सेकुङ ताल बनेको छ । बेनी–जोमसोम सडकबाट १५ मिनेटमै पुग्न सकिने भए पनि तालको संरक्षण तथा आवश्यक प्रचार नहुँदा पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको हो ।

थासाङ गाउँपालिका-२ का वडाध्यक्ष गौतम शेरचनले सेकुङ तालमा आवश्यक स्तरोन्नति गर्नुपर्ने देखिएकाले पानीको सतह घटाइएको जानकारी दिए । प्राकृतिक स्रोत साधनको संरक्षण तथा संवर्द्धन गर्ने पहिलो प्राथमिकता स्थानीय तहको रहे पनि गाउँपालिकाले त्यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । केही वर्षअघि भन्दा हाल सेकुङ तालमा पानीको सतह आधा भन्दा धेरैले घटेको छ ।

सेकुङ तालसम्म जोड्ने गरी बेनी-जोमसोम राष्ट्रिय राजमार्ग सडक निर्माण गरिए पनि कतिपय स्थानमा सडक जीर्ण हुँदा तालसम्म पुग्न सवारी साधनलाई कठिन छ । संघीय सरकारले सेकुङ ताल जोड्ने कच्ची सडक विस्तार गरे पनि आवश्यक स्तरोन्नति गर्न सकेको छैन ।

थासाङको सेकुङ ताल संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले केही वर्ष अघि बाँध निर्माण गरेको थियो । तर, तालमा पानी जम्मा हुन सकेको छैन । यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले सेकुङ तालको चारैतिर छप्पनी ढुंगा राखेर पैदल बाटो निर्माण गरेको थियो । वडाध्यक्ष गौतम शेरचनले सेकुङ ताल अवलोकनका लागि आउने पर्यटकका लागि गाउँपालिकाले ठाँटी निर्माणका साथै शौचालय र खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस