म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त

सफल खबर संवाददाता

आइतबार, २४ चैत्र २०८१, ११ : ०९
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त

वासिङ्टन डीसी । म्यानमारमा राहत तथा उद्धार कार्यमा संलग्न अमेरिकी विदेश सहयोग नियोग  (यूएसएड) को टोलीलाई बर्खास्त गरिएको खबर प्रकाशमा आएको छ । यो दाबी यूएसएडका एक जना पूर्व वरिष्ठ अधिकारीले गरेका हुन् ।

ट्रम्प प्रशासनले संघीय सरकारको खर्च घटाउन निरन्तर ठुलो मात्रामा कर्मचारी कटौती गरिरहेको छ । यसअन्तर्गत, यूएसएडमा कार्यरत हजारौँ कर्मचारीहरूलाई बर्खास्त गरिएको थियो । कर्मचारीलाई हटाउने क्रम अझै पनि जारी छ ।

मिडिया रिपोर्टका अनुसार युएसएड टोलीसँग म्यानमारमा राहत कार्यमा संलग्न तीन कर्मचारीलाई बर्खास्त गर्न आदेश दिइएको छ । एजेन्सीका पूर्व वरिष्ठ अधिकारी मार्सिया वोङले यसप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छिन् । ‘टोलीका सदस्यहरू धेरै कठिन परिस्थितिमा काम गरिरहेका छन् र मानवीय सहयोगमा संलग्न छन् भने आफ्नो बर्खास्तीको खबरले उनीहरूको मनोबल तोड्दैन र ?‘ उनले प्रश्न गरेकी छिन् ।

ट्रम्प प्रशासनले म्यानमारलाई सहयोग गर्न ९० लाख डलर दिने वाचा गरेको छ । तर यूएसएडको बजेटमा भारी कटौती र कर्मचारी निष्कासनले एजेन्सीको राहत र उद्धार कार्यमा बाधा पुर्‍याइरहेको छ ।

राष्ट्रपतिको पदभार ग्रहण गर्ने बित्तिकै ट्रम्पले संघीय सरकारको खर्च कटौती गर्न थालेका थिए । यस उद्देश्यका लागि, खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा गठन गरिएको सरकारी दक्षता विभागले ठुलो मात्रामा संघीय कर्मचारीलाई कटौती गरिरहेको छ । यसको सबैभन्दा ठुलो मार विदेशी सहायता निकाय यूएसएडले बेहोरिरहेको छ । यूएसएडका कर्मचारीहरू भूकम्प प्रभावित क्षेत्रमा काम गरिरहेका थिए र सडकमा खुला आकाशमुनि सुतिरहेको वोङले भनेकी थिइन् ।

भूकम्प प्रभावित म्यानमारमा यूएसएडलाई कम रकम दिइएको कारणले संयुक्त राज्य अमेरिकाले छिटो कारबाही गर्न असमर्थ भएको भन्ने कुराको अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले शुक्रबार खण्डन गरेका थिए । 

म्यानमार काम गर्ने सबैभन्दा सजिलो ठाउँ नभएको उनको भनाइ थियो । म्यानमारको सैन्य सरकारलाई अमेरिका मन नपर्ने अनि देशमा आफ्नो इच्छा अनुसार काम गर्नबाट रोक्ने उनले भनेका थिए ।