राजावादीहरू मुलुकमा आतंक फैलाएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा छन्: महासचिव भुसाल

सफल खबर संवाददाता

मंगलबार, १९ चैत्र २०८१, १७ : ०३
राजावादीहरू मुलुकमा आतंक फैलाएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा छन्: महासचिव भुसाल

विराटनगर। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राजावादीहरू मुलुकमा आतंक फैलाएर समाजलाई नियन्त्रणमा लिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

एकीकृत समाजवादी मोरङकाे नवाैं जिल्ला अधिवेशनमा उनले उदण्ड, अराजक र अपराधपूर्ण ढङ्गबाट मुलुकमा आतंक फैलाउने काम भइरहेको बताए । 'मुलुकमा आतङ्क फैलाएर समाजलाई हायलकायल पार्ने ​षड्यन्त्र भइरहेको छ,' उनले भने ।

उनले राजावादीहरूको आतंक र षड्यन्त्र सफल बन्न नदिने बताए ।महासचिव भुसालले राजावादीहरू भारतीय सत्ताको उक्साहटमा मुलुकमा आतंक फैलाउन लागेको आरोप पनि लगाएका छन् ।

'भारतीय सत्तामा जो भए पनि उसको ध्येय नेपाललाई अस्थिर बनाइराख्ने हो, त्यो अस्थिरताको आडमा फाइदा लिइरहने भन्ने हो,' उनले भने, 'भारतीयहरूले रोक भन्दाभन्दै बनेको यो संविधान उनीहरू हिँडाइदिन चाहन्छन् ।

संविधानको अनुसूचीमा रहेको चुच्चे नक्सा स्थगित गर्न चाहन्छन् । यसका लागि राजावादीहरू प्रयोग भइरहेका छन् । तिनको आड भरोसा भारतीय सत्ता हो।'