‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०८२, १४ : ०२
‘आई लभ यू केपी बा’ होइन, संसद् विघटनको हिसाब माग्नुपर्छ : घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले लहडका भरमा संविधान संशोधन भए देश बहुआयामिक द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन्। मंगलबार राजधानीमा पार्टीले १५६ औँ लेनिन जयन्ती तथा नेकपा स्थापना ७६ औँ वर्ष पुरा भएको अवसरमा आयोजना भएको विचार गोष्ठीमा बोल्दै भुसालले चेतावनी दिएका हुन् । 

‘संविधान संशोधनका कुरा उठेको छ । शासकको लहडमा संविधान संशोधन हुने हो भने देश बहुआयामिक द्वन्द्वमा फस्नेवाला छ । कसैले धर्म निरपेक्षताको नाममा, कसैले निर्वाचन प्रणालीको नाममा, कसैले शासकीय स्वरूपको नाममा त कसैले समावेशीको नाममा संविधान च्यात्नेवाला छन्’, चेतावनी दिँदै उनले भने ।

भुसालले देश असफल हुने, नेता तथा पार्टी सफल हुने अवस्था देखिएकाले अहिले शासक जहाँ गयो त्यहीँ विरोध हुने अवस्था आएको बताए । यो तहसम्मको अविश्वास हुँदा समेत प्रधानमन्त्री केपी ओलीले वैशाख ११ गते भिड जम्मा गरेर आफू बलियो छु भनेर देखाउन खोजेको उनले आरोप लगाए ।

‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न प्रधानमन्त्रीले वैशाख ११ गते ठुलो मास जम्मा गर्दैछन् । दुर्भाग्य ! जुलुसमा आउनेहरूले पनि आइ लभ यु केपी बा भन्ने होलान् । उनीहरूले आइ लभ यु बा होइन । कमरेड केपी हाम्रो हिसाब देऊ । क्रान्तिको हिसाब देऊ । पार्टी विघटन, संसद् विघटन, लोकतन्त्रमाथि भएका आक्रमणको हिसाबकिताब देऊ भन्नुपर्ने  हो’, उनले भने ।

भुसालले समाजवादी क्रान्तिका लागि उच्च तहको बौद्धिकता र दृढता आवश्यक रहेको बताए । जतिसुकै आलोचना भएपनि पुँजीवादीले लेनिनमाथि यी दुई कुरामा कसैले प्रश्न नउठाएको उनले जिकिर गरे । लेनिनको बौद्धिकता अनुकूलको दृढताले धेरै अर्थ राख्ने भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस