काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहणसँगै दशौँ महाधिवेशनको सम्पूर्ण काम सकिएको बताएका छन् । भुसालले आजदेखि पार्टीको पाँच वर्षको क्रान्तिकारी यात्रा सुरु भएको पनि घोषणा गरेका हुन् ।
उनले केन्द्रीय समितिको पूर्ण बैठकलाई ‘कटअफ डेट’ का रूपमा मान्दै महाधिवेशन अघिका सबै नकारात्मक कुराहरूलाई आजदेखि अन्त्य गर्नुपर्ने बताए । उनले भने, ‘किनभने अब हामी यो मुलुकको क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य हौँ ।
महाधिवेशनले अत्यन्त विश्वासका साथ आजको परिस्थितिको विश्लेषण गरेर, चुनौतीहरूको विश्लेषण गरेर, प्रतिनिधिहरूले असाध्य उत्साहित भएर सम्पूर्ण प्रतिबद्धताका साथ महाधिवेशनको हलको सामूहिक बुद्धिले हामीलाई यो प्रक्रियामा पठाएको थियो । र, सर्वसम्मत रूपमा केन्द्रीय कमिटीको समेत निर्वाचन गर्नका लागि म्यान्डेट दिएको थियो,’ उनले भने ।
उनले थपे, ‘जुनसुकै प्रक्रियामा जाँदा केही टिप्पणी, केही गुनासा र केही कमजोरीहरू रहन सक्छन् । तर, यसले जुन म्यान्डेट दिएको थियो, सहमतिका लागि, सर्वसम्मतिका लागि, मूलभूत रूपमा यो सम्पन्न भएको छ । सफलताका साथ सम्पन्न भएको छ । महाधिवेशन पूर्ण भएको छ ।’
उनले एउटा विद्रोही सधैँ विद्रोही नरहने पनि स्पष्ट पारे । उनले हिजो भएका कमजोरीहरूलाई पनि अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘हिजो विद्रोहीका रूपमा हामीबाट केही कमी कमजोरी भएका थिए, आवेग वा विभिन्न कारणले,’ उनले भने, ‘एउटा विद्रोही सधैँ विद्रोही रहन सक्दैन ।
किनभने विद्रोह एउटा उद्देश्यले गरिएको हुन्छ । एउटा व्यवस्थाले काम नगरेपछि, त्यो व्यवस्थालाई ध्वस्त पारेर अर्को नयाँ व्यवस्थाका लागि अघि बढेको हुन्छ । हरेक क्रान्तिकारी विद्रोहीको दिमागमा विद्रोहको सङ्कल्प हुन्छ र जसको आँखामा हिजोको भन्दा नयाँ र राम्रो व्यवस्थाको खाका हुन्छ । हामी त्यो विद्रोही हौँ भनेर हामीले साबित गर्नुपर्नेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ भदौ २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल
३ वर्षमा हण्डर–ठक्कर खायौं होला, तर विद्रोह सही प्रमाणित भयो: घनश्याम भुसाल
सबै असहमति हल गरेर नयाँ नेतृत्व चयन गर्छौँ : महासचिव भुसाल