तीनकुनेको हिंसात्मक घटनामा संलग्नहरूमाथि फौजदारी कसुरमा अनुसन्धान सुरु

सफल खबर संवाददाता

शनिबार, १६ चैत्र २०८१, ११ : ३९
तीनकुनेको हिंसात्मक घटनामा संलग्नहरूमाथि फौजदारी कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । शुक्रबार तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान हुने भएको छ ।

शुक्रबार रातिको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल भएको थियो । शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन गर्न थालिसकेको छ । व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव एवं संगठित अपराधको आरोप आकर्षित हुनेगरी अनुसन्धान अघि बढिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनको सरकार विरोधी नभए पनि तोडफोड, आगजनी, लुटपाट र ज्यान जाने गरी भएको हिंसात्मक गतिविधिको कडा अनुसन्धान गर्न निर्देशन दिएका छन्।

एक मन्त्रीका अनुसार, घटनामा संलग्न प्रदर्शनकारीहरू संगठित रूपमा आक्रमणमा उत्रिएकाले दोषी पहिचान गर्न व्यापक अनुसन्धान सुरु गरिएको छ। सुरक्षाकर्मीमाथि ज्यान मार्ने उद्देश्यले गाडी चलाइएका दृश्यहरू र पत्रकारको घरभित्रै आगजनी भएको प्रमाणको आधारमा कडा कानुनी कारबाही गरिनेछ।

प्रहरी स्रोतका अनुसार, घटनामा संलग्नहरूमाथि महान्यायाधीवक्ता कार्यालयसँग समन्वय गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। तीन फरक प्रकृतिका घटनाहरू – ज्यान मार्ने प्रयास, आगजनी, र तोडफोडलाई छुट्टाछुट्टै अनुसन्धान गरिने बताइएको छ।

प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार, ‘यो सामान्य विरोध प्रदर्शनको विषय नभई संगठित आपराधिक गतिविधि भएकाले राज्यको फौजदारी न्याय प्रणाली अनुसार कडा अनुसन्धान हुनेछ।’

रवीन्द्र मिश्र र दुर्गा प्रसाईविरुद्ध अनुसन्धान

घटनाअघि राप्रपा नेता रवीन्द्र मिश्रले भड्काउने अभिव्यक्ति दिएको र दुर्गा प्रसाईले हाइलक्स गाडी चलाएर सुरक्षाकर्मीको घेरा तोडेको प्रमाणहरू सार्वजनिक भएका छन्। प्रहरीले उनीहरूका अभिव्यक्ति र गतिविधिहरूको पनि छानबिन गरिरहेको छ।

मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार, ज्यान मार्ने नियत देखिएमा दोषी प्रमाणित भएका व्यक्तिहरूलाई २५ वर्षसम्मको जन्मकैद हुन सक्छ।

अदालती प्रक्रिया सुरु हुँदै

पक्राउ परेका प्रदर्शनकारीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई म्याद थप गरिनेछ। घटनामा संलग्न नभएका व्यक्तिहरूलाई सोधपुछपछि रिहा गर्ने तयारी भइरहेको छ।

सरकारले यस घटनालाई ‘राज्यविरुद्धको संगठित अपराध’ का रूपमा हेरेर अनुसन्धान गरिरहेको छ। दोषीहरूलाई कडा कारबाही गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस