अस्ट्रेलियालाई हराएर भारत फाइनलमा

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १३ : १८
अस्ट्रेलियालाई हराएर भारत फाइनलमा

काठमाडौं । अस्ट्रेलियाविरुद्ध ४ विकेटको जित निकाल्दै भारत जारी आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ ।

सन् २०१३ को च्याम्पियन भारतले पछिल्लो संस्करण २०१७ को फाइनलमा पाकिस्तानसँग हार बेहोरेको थियो । योसँगैं भारत लगातार तीन पटक फाइनलमा पुगेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले २ सय ६५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले सो लक्ष्य ४८.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि विराट कोहलीले ९८ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी श्रेयस अय्यरले ४५, केएल राहुलले ४२, हार्दिक पाण्डेया र कप्तान रोहित शर्माले समान २८ तथा अक्षर पटेलले २७ रन बनाए । केएल राहुलले छक्का प्रहार गर्दै भारतलाई जित दिलाएका थिए ।

तेस्रो विकेटका लागि विराट र श्रेयसबीच ९१ रनको साझेदारी भयो । अस्ट्रेलियाका लागि नाथन एलिस र एडम जम्पाले समान दुई तथा बेन्जामिन जेम्स द्वारशुइस र कुपर कोनोलीले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ९६ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७३ रन जोडे ।

यसैगरी एलेक्स केरीले ५७ बलमा आठ चौका र एक छक्काको मद्दतले ६१, ट्राभिस हेडले ३९, मार्नुस लाबुशेनले २९, बेन्जामिन जेम्स द्वारशुइसले १९, जोस इंग्लिसले ११ र नाथन एलिसले १० रन बनाए । भारतका लागि मोहम्मद शामीले तीन, वरुण चक्रवर्ती र रविन्द्र जडेजाले समान दुई तथा हार्दिक पाण्डेया र अक्षर पटेलले समान एक विकेट लिए । वरुणले खतरनाक देखिरहेका ट्राभिस हेडलाई शुभमन गिलद्वारा क्याच आउट गराएर भारतीय टोलीलाई ठूलो राहत दिलाएका थिए ।

हेडले गत आईसीसी विश्वकप २०२३ फाइनलमा भारतविरुद्ध शतक प्रहार गरेर भारतलाई उपाधिबाट विमुख गराएका थिए । भारतले उपाधिका लागि न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो सेमिफाइनल खेल आज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस