काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाली जनताले सामन्तवाद र राजतन्त्र ‘बुलेट’बाट नभई ‘ब्यालेट’बाट पराजित गरी देशमा शान्तिपूर्ण ढङ्गले राजनीतिक परिवर्तन गरेको बताएका छन् ।
यदु स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको २६औँ यदु स्मृति दिवसको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेकपा माओवादीले भन्दै आएको जनयुद्ध हिंसात्मक भएकाले गलत भएको टिप्पणी गरे ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले माओवादीले रुकुम–रोल्पाबाट थालेको हिंसात्मक गतिविधिको छाप अझै पनि मुलुकमा रहेकाले त्यसबाट देशलाई मुक्ति दिलाउने दायित्व हामी सबैको हो भने ।
नेपालमा शान्तिपूर्ण क्रान्तिमा नेकपा एमाले र नेपाली काँग्रेसले महत्पूर्ण भूमिका खेल्दै आएको उदाहरण दिँदै उनले भने, “हामीले मत खसालेर राजा फालेको इतिहास छ । माओवादीले हिंसात्मक बाटो रोजे, जसले मुलुकको विकासमा २५ वर्ष पर धकेलिएको छ ।”
हिंसात्मक गतिविधि सञ्चालन गरेको विषयलाई माओवादीले आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो समय हिंसाको अर्को आवरणको रूपमा सामाजिक सञ्जालको गलत प्रयोग भइ समाजमा विकृति र विसङ्गति मौलाएको भनी चिन्ता व्यक्त गरे । “सामाजिक सञ्जालको प्रयोग गरी भइरहेको हिंसात्मक गतिविधि रोकथाम गर्नु राज्यको दायित्व भएकाले धार्मिक सहिष्णुता, जातीय एकता, सामाजिक सद्भाव कायम गर्न सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन बनाउन लागेको उनले स्पष्ट गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १७ : ०१
लेखकबाट थप