सभामुखद्वारा सुखानी सहिदका तस्बिर अकिंत हुलाक टिकटमा टाँचा

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १७ : ०३
सभामुखद्वारा सुखानी सहिदका तस्बिर अकिंत हुलाक टिकटमा टाँचा

काठमाडौँ । सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अकिंत हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाएका छन् । 

 झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जंगलमा हत्या गरिएको  थियो ।

झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उनीहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ ।

 संघीय सरकारले उनीहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । यसअघि विसं २०४६ को जनआन्दोलन पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उहाँहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो । सुखानी सहिदहरूको तस्बिर अकिंत हुलाक टिकटको मूल्य रु १० तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस