म्यानमारका राजदूत र लुम्बिनीका मुख्यमन्त्रीबीच भेट

सफल खबर संवाददाता

बुधबार, २१ फागुन २०८१, १९ : १३
म्यानमारका राजदूत र लुम्बिनीका मुख्यमन्त्रीबीच भेट

काठमाडौँ । नेपालका लागि म्यानमारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेट गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भएको थियो ।मुख्यमन्त्री आचार्यले नेपाल-म्यान्मार विकास साझेदारीलाई अझ मजबुत बनाउँदै दातृ निकायहरूसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको बताए । साथै, लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको र यी क्षेत्रहरूको प्रवर्द्धन तथा विकासका लागि म्यानमार सरकार तथा सम्बन्धित साझेदारहरूसँग सहकार्य गर्ने अपेक्षा रहेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल र म्यान्मारबीच ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै म्यानमार सरकारले लुम्बिनीमा चैत्य निर्माण गरी यहाँको विकासमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गरे ।‘नेपाल र म्यान्मारबीच धेरै आर्थिक, सामाजिक तथा सांस्कृतिक समानताहरू रहेका छन्, जसका आधारमा दुवै देशबीच विभिन्न क्षेत्रहरूमा सहकार्यलाई प्रवर्द्धन गर्न सकिन्छ’उनले भने,‘विशेष गरी, म्यानमारका बौद्ध धर्मावलम्बीहरूलाई लुम्बिनीमा सहज रूपमा आउन प्रेरित गर्न तथा दुवै देशबीच व्यापार र आर्थिक गतिविधि वृद्धि गर्न हवाई सम्पर्क स्थापना गर्नु आवश्यक छ ।’

नेपाल र म्यान्मारबीच १९६० को मार्च १९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै मुलुकबीच आपसी मित्रता र सहकार्य निरन्तर सुदृढ हुँदै आएको छ । बौद्ध धर्मावलम्बी बहुल राष्ट्र म्यानमार र गौतम बुद्धको जन्मस्थल नेपालबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध गहिरो रहेको छ ।

भेटमा कृषि, खाद्य सुरक्षा, पर्यटन र सांस्कृतिक क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने पर्याप्त अवसरहरू रहेको विषयमा छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले कृषि तथा पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान साझा गर्दै दुवै देशलाई लाभान्वित गर्न सकिने बताए ।

राजदूत उ म्यो म्यिन्ट माउङले नेपाल र म्यानमार सांस्कृतिक तथा धार्मिक सम्बन्धले जोडिएको बताउँदै यो सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सकिने उल्लेख गरे । उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल-म्यानमार सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । साथै, म्यानमार सरकार लुम्बिनी प्रदेश सरकारसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस