माओवादीको अभियान कार्यतालिका फेरेर प्रचण्ड किन आउँदैछन् काठमाडौं ?

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०८१, १० : २३
माओवादीको अभियान कार्यतालिका फेरेर प्रचण्ड किन आउँदैछन् काठमाडौं ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को गत फागुन १२ गतेबाट हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेस अभियानको केही कार्यक्रम फेरि हेरफेर भएको छ ।

शनिबार मात्रै एक दिन तलमाथी गदै कार्यक्रम फेरेको माओवादीले आइतबार बिहानै फेरि थप तीन दिनको कार्यतालिकामा हेरफेर गरेको हो ।

माओवादीले महोत्तरी देखिका कार्यक्रममा तालिका हेरफेर गरेको छ । अभियानको कार्यतालिका हेरफेर गरेर आज धनुषाको कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किदैछन् ।

सत्तासिन दल एमाले र कांग्रेसका बीचमा दलविभाजन सम्वन्धी विधेयक बुधबारसम्म संसदमा दर्ता गराउने, सरकारले जारी गरेको र संसदमा पारित गराउन नसकिरहेको अध्यादेशहरु मधेस केन्द्रीत जसपा र लोसपालाई मनाउन अधिकतम प्रयास गर्ने जस्ता समझदारीका साथ छलफल अगाडी बढिरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड अभियानको कार्यतालिका हेरफेर गरेर काठमाडौं आउन लागेका हुन् ।
 
यद्यपी माओवादीले अभियान चलिरहेका स्थानमा जनताका स्थानीय पर्वहरु परेको, समाजवादी मोर्चाका पनि थप केही कार्यक्रमहरु रहेकोले केही दिन कार्यतालिकामा संसोधन गर्नुपरेको बताएको छ ।
 
 दलविभाजन सम्वन्धी अध्यादेश नै केपी ओली नेतृत्वको सरकारले ल्याउन चाहेपनि नसकेपछि विद्येयकका रुपमा आउन लागेको हो । यो विद्येयकका विषयमा कांग्रेसभित्रै मता विभाजित छ । दल विभाजनको प्रावधानलाई खुकुलो बनाएर ल्याउन लागिएको विद्येयकले अन्ततः कांग्रेसलाई भन्दा एमालेलाई नाफा हुने गरी ल्याउन खोजिएको बुझाईमा कांग्रेसका शेखर कोइराला पक्षधर नेताहरु छन् ।

यसलाई मान्न नसकिने र साना दलहरुलाई पेल्ने रणनीतिमा सत्तासिन दल रहेको कांग्रेसको शेखर पक्षधरको बुझाई छ । राजनीतिक घटनाक्रम तीव्र उतारचढावका साथ अगाडी बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादीले अभियानको कार्यतालिका हेरफेर गरेर अध्यक्ष प्रचण्ड काठमाडौं आउन लाग्नुलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ ।

प्रचण्ड लगायत माओवादीका बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव लगायतको सिंगो पदाधिकारी टोली अहिले अभियानमा प्रचण्ड सँग सँगै जनताका वीचमा पुगिरहेको छ ।

माओवादीले फेरेको कार्यतालिका अनुसार, अव महोत्तरीमा फागुन २२, सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५ र पर्सामा फागुन २६ मा अभियान चल्नेछ । त्यस्तै चितवनमा फागुन २७, नवलपरासी पूर्वमा चैत २,  नवलपरासी पश्चिममा चैत ३, रुपन्देहीमा चैत ४कपिलवस्तुमा चैत ५ दाडमा चैत ६ बाँकेमा चैत ७ र बर्दियामा चैत ८ मा अभियान चल्नेछ ।

त्यस्ते चैत ९ मा समाजवादी मोर्चाको जनकपुरमा जनसभा रहेकोले उक्तदिन अभियान चल्ने छैन । त्यसपछि सूदुरपश्चिम प्रदेशमा चैत ११ मा कैलाली र चैत १२ मा कञ्चनपुरमा पुगेर अभियान समापन हुने माओवादीले जनाएको छ । यस अगाडी माओवादीले चैत ७ मा अभियान सक्ने तयारी गरेको थियो । फेरिएको कार्यकतालिका अनुसार अब चैत १२ मा मात्र माओवादीको पहिलो चरणको हुलाकी मार्ग केन्द्रीत अभियान समापन हुनेछ ।