हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी : तराई–मधेश जागरण अभियानमा उर्लदो उभार देखिएको छ

माओवादीमा उर्लिएको जनउभार

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०८१, ११ : १८
हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी : तराई–मधेश जागरण अभियानमा उर्लदो उभार देखिएको छ

विराटनगर । न्याय, समानता र स्वतन्त्रताका लागि भीषण वर्गसंर्घषबाट खारिएर आएको नेकपा (माओवादी केन्द्र)ले पार्टीमा २०६४ कै जस्तो जनउभार ल्याउन हुलाकी मार्ग केन्द्रीत अभियान शुरु गरेको छ ।

पार्टीमा आएको विभाजन, सरकारतिर मात्रै रुमल्लिएको मन र जनतासँग टाढिएको सम्वन्धबाट कमजोरी भएको र त्यसलाई सच्चाएर फेरि जनतातिरै फर्किने बाचासहित जनतामा पुगिरहेको माओवादीमा अहिले उर्लदो जनउभार देखिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले पछिल्लो पटक सरकारमा बसेर भष्टाचारका विरुद्द चालेको अभियानबाट जनतामा सकारात्मक सन्देश गईरहेको बेला माओवादीले जनतातिर फर्किने अभियान शुरु गरेको हो । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग चुनावी गठबन्धन गरेर जाँदा माओवादीप्रति जनता सन्तुष्ट देखिएका थिएनन । तर कांग्रेस र एमालेले गठबन्धन गरेर सरकार चलाएपछि माओवादीलाई जनतामा फर्किने बाटो दिएको थियो ।

त्यसपछि भएको स्थानीय तहको उपचुनाव देखि पत्रकार महासंघको चुनावसम्म एक्लै प्रतिस्पर्धामा भिड्दा पनि माओवादीको पक्षमा नतिजा देखिन थालेपछि माओवादी आफ्नै बलमा उभिन उत्साहित भएको हो ।

झापास्थित नेपालको सबैभन्दा होचो भूमि केचनाकवलमा राष्ट्रिय झण्डा फहराएर ‘जनतासँग माओवादी स् तराई मधेश जागरण अभियान’को सुरुवात गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अभियानको क्रममा भनिरहेका छन्, पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाइरहेको देखिएको छ र यसले देशव्यापी रुपमा उर्जा दिनेछ ।

विगतमा आफ्नो वर्ग, समुदाय र राजनीतिक एजेण्डालाई जानेर नजानेर भुल्न पुगेको भन्दै जनतासँग क्षमायाचना गर्दै प्रचण्ड हिडिरहेका छन् । सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरुसँग भेटघाट गर्दै अभियानमा जुटेको माओवादीलाई जनताले पनि साथ दिईरेहका छन् । अझ शहीद र वेपत्ता परिवारले दिएको दरिलो आत्मविश्वास र आडले प्रचण्ड सहित अभियानमा जुटेका माओवादीका पदाधिकारीहरु उत्साहित देखिएका छन् ।

अभियान नागरिकलाई जागरुक बनाउने, आफ्ना कमजोरी सच्याउने र जनताको समस्या अनुभूत गर्ने र समाधानको पहल लिनेमा केन्द्रीत रहेको अभियान टोलीमा रहेका माओवादी नेताहरुले बताईरहेका छन् ।

यो अभियानमा नागरिकको व्यापक सहभागिता, प्रचण्डसँग अन्तरक्रिया गर्न देखिएको चासो, नागरिक तहबाट आएको ज्ञापनपत्रहरूजस्ता विषयले माओवादीप्रति जनताको सकारात्मक भाव पैदा गरेको देखिएको छ ।

फागुन १२ बाट शुरु भएको पहिलो चरणको यो अभियान चैत ५ मा कञ्चनपुर पुगेर समापन हुनेछ । प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा गर्न तथा सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्न तराई मधेश जागरण अभियान सञ्चालन गरिएो माओवादी भनाई छ ।

जरामा फर्किने यो खालको अभियान माओवादीले पहिला शुरु गरेको थिएन । यो पटक खासगरी आदिवासी जनताति, मधेशी, थारुको मुद्दा स्थापित गर्न र राष्टिय एकताको भाव पैदा गराउन पनि माओवादीले आधारभूत वर्गका जनता लक्षित अभियान चलाएको देखिएको छ ।

यस्तो अभियानमा जनताको उपस्थिती, माओवादीले आफैले सुरु गरेको १० वर्षे जनयुद्धमा स्थापित गरेका अधिकार, संरक्षण गरेका आधारभूत जनतामा अभियान लगेपछि सर्वसाधारण जनतामा उत्साह थपिएको छ ।

मंगलबार मोरङको रतुवामाईबाट त सयौं ब्यक्ति माओवादीमा गोलवद्द हुन पुगेका थिए । माओवादीमा आएको यो खालको आर्कषण ०६४ पछि कहिल्यै नदेखिएको र फेरि २०६४ कै उभारले पार्टी हर्षित रहेको माओवादी नेताहरुको भनाई छ ।