काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सिक्टा सिँचाइ, बबई सिँचाइ लगायतका ठूला आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीका अनुसार सरकार गठन भएदेखि नै यी आयोजनाहरूको समयमै कार्यान्वयन तथा निर्माण व्यवसायीको भुक्तानी समस्या समाधान गर्न पहल गरिएको छ। हालसम्म आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म भुक्तानी गर्न बाँकी रहेको दायित्वमध्ये रु। २२ अर्ब ४३ करोड ३६ लाख भुक्तानी भइसकेको उनले जानकारी गराए।
राष्ट्रिय परियोजनाहरूमा स्रोत अभाव हुन नदिन विशेष नीति
प्रधानमन्त्री ओलीले ठूला राष्ट्रिय परियोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयहरूलाई नीति निर्देश गरिएको बताए। उनका अनुसार बजेट तर्जुमा गर्दा प्राथमिकताका आयोजनाहरूलाई पहिलो प्राथमिकता दिई बाँकी कार्यक्रम तथा योजनाहरूका लागि बजेट छुट्याइने नीति अपनाइएको छ।
नयाँ बहुवर्षीय आयोजनाहरूको स्रोत सुनिश्चित गर्न सरकार सशक्त रहेको भन्दै उनले विस्तृत आयोजना प्रतिवेदन वातावरणीय मूल्यांकन, जग्गा प्राप्ति प्रक्रिया, साइट क्लियरेन्स, मध्यमकालीन खर्च संरचना तथा खरिद गुरुयोजना स्वीकृति भइसकेका योजनाहरूलाई मात्र स्रोत स्वीकृति दिने कानुनी व्यवस्था मिलाइएको जानकारी गराए।
ठूला आयोजनाहरूको निरन्तर अनुगमन
प्रधानमन्त्री ओलीले ठूला राष्ट्रिय परियोजनाहरूको अनुगमनलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक तथा वित्तीय प्रगतिलाई आधार मान्दै आवश्यक बजेट व्यवस्थापन गरिने बताए। उनका अनुसार कुनै कार्यक्रम सञ्चालन हुन नसक्ने वा बचत हुने बजेटलाई राष्ट्रिय गौरवका आयोजनाहरूमा रकमान्तर गर्ने नीति अवलम्बन गरिएको छ।
‘काम हुँदैछ’ भन्ने संस्कृतिको अन्त्य गर्दै ‘थालेको काम सक्ने’ नीति
प्रधानमन्त्री ओलीले नेपालमा लामो समयदेखि विकास निर्माणमा देखिएको ‘काम हुँदैछ’ भन्ने संस्कृतिलाई हटाउँदै ‘थालेको काम सकिन्छ’ भन्ने मान्यता स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए। यसलाई संस्थागत गर्न राष्ट्रिय योजना आयोग र सरोकारवाला मन्त्रालयहरूसँग परामर्श गरी आयोजना तर्जुमाको खाका स्वीकृत गरी लागू गरिएको जानकारी गराए।
उनका अनुसार, सीमित स्रोत साधनको कुशल प्रयोग गर्दै परियोजनाहरू समयमै सम्पन्न गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको एक्सन रुमबाट नियमित अनुगमन भइरहेको छ। प्रधानमन्त्री ओलीले आयोजना समयमा सम्पन्न गर्न स्वयं निर्देशन दिइरहेको उल्लेख गरे।
सरकारको नीतिगत सुधार र नियमित अनुगमनमार्फत ठूला राष्ट्रिय आयोजनाहरू निर्धारित समय सीमाभित्र सम्पन्न हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरआवासीय नेपालीलाई संविधानले दिएको अधिकार छिट्टै कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस् : प्रधानमन्त्री ओली
सत्ता गठबन्धनमा उच्च विश्वास र समझदारी छ : प्रधानमन्त्री ओली
तराई-मधेशका पूर्वाधार आयोजना सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री ओली
भारतीय ऊर्जामन्त्रीको नेपाल भ्रमणपछि मात्रै प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्ने
रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन