सुदूरपश्चिम संसदीय समितिका सभापति चयन गर्न चुनाव हुँदै

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०८१, ०९ : १४
सुदूरपश्चिम संसदीय समितिका सभापति चयन गर्न चुनाव हुँदै

कंचनपुर । दुईपटक स्थगित सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया शनिबार सुरु हुँदै छ। रिक्त विषयगत समितिका सभापति चुन्न चुनाव गर्न लागिएको हो।

सुदूरपश्चिम प्रदेश सभा सचिवालले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार शनिबार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ।

शनिबार बिहान १० बजे मतदाता प्रदेश सांसदको नामावली प्रकाशन, ११ बजेदेखि साढे ११ बजेसम्म दाबी-विरोध, १२ बजे अन्तिम नामावली प्रकाशन, दिउँसो १ देखि ४ बजेसम्म निर्वाचन गरियोस् भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची छ।

आइतबार बिहान १० देखि ११ बजेसम्म सभापतिका उम्मेदवारविरुद्ध दाबी-विरोधको समय तोकिएको छ भने १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्नेछ। त्यसपछि निर्वाचन परिणाम घोषणा गरिने प्रदेश सभा सचिवालयले जनाएको छ। 

रिक्त रहेका विषयगत समितिका सभापति चयनका लागि सचिवालयले यसअघि दुई पटक निर्वाचन तालिका सार्वजनिक गरेपनि हुन सकेको थिए। 

सुदूरपश्चिममा हाल सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विशेषाधिकार समिति सभापतिविहिन छन्।

विषयगत समितिको भागबन्डामा सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एउटा/एउटा समितिका सभापति पद लिनेछन्। नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेलाई सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेषाधिकार समिति सभापति भागमा परेका छन्। 

प्रतिक्रिया दिनुहोस