यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल

सफल खबर संवाददाता

बुधबार, ३० माघ २०८१, १३ : २५
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताएका छन् ।  बुधवार एसियाली विकास बैङ्क र मन्त्रालयको आयोजनामा काठमाडौँमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातका बारेमा भएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री दाहालले यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको पनि बताए। नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भूमिका रहेको भन्दै उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत अझ स्तरीय र पहुँचयोग्य बनाउन सकिने समेत बताए ।

यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागिता स्वागतयोग्य रहने उनको भनाई छ ।

यातायात क्षेत्रका सम्बन्धमा सङ्घीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवम् व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहने मन्त्री दाहालले उल्लेख गरे। यातायात क्षेत्रमा स्वच्च ऊर्जा तथा इन्धनको उपयोगलाई सरकारले प्रोत्साहन गरी रहेको भन्दै उनले यसका लागि चाहिने चार्जिङ् स्टेसन, पार्किङ, मर्मत लगायतलाई पनि थप व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले सहरीकरण र सहर विस्तार नियमित प्रक्रिया रहेको उल्लेख गर्दै  यसलाई रोक्न नसकिने बताए । तर सहरीकरणको विस्तार र विकासलाई व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँचयोग्य बनाइनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस