खाल्डाखुल्डीरहित सडक हामीले बनायौँ, प्रशंसा महानगरको भयो : मन्त्री दाहाल

सफल खबर संवाददाता

सोमबार, १५ पुस २०८१, १२ : ००
खाल्डाखुल्डीरहित सडक हामीले बनायौँ, प्रशंसा महानगरको भयो : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल अहिले निर्माणको चरणमा रहेको बताएका छन् । सोमबार सडक बोर्डको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो कुरा बताएका हुन् ।

‘अन्य मुलुकको तुलनामा अहिले हामी निर्माणको चरणमा छौँ । नेपालमा २०१३ सालमा कान्ति राजमार्गले काठमाडौँ र बाहिरका जिल्लालाई जोडेको थियो ।

त्यसअघि गाडी बोकेर ल्याइन्थ्यो । अहिले देशभरमा ६० लाख सवारी र एक लाख किलोमिटर सडक पुगेको छ,’ उनले भने, ‘तर विकास भन्ने बित्तिकै सडक आउँदो रहेछ । सडकलाई नै विकास देख्ने  गरिन्छ ।

सडकले सुविधा त पुगेको तर मर्मतका लागि उत्तिकै चुनौती थपिएको समेत उनले बताए । मन्त्रालयको कुल विनियोजित बजेटको ८० प्रतिशत सडक मर्मतका लागि छुट्याउने गरेको तर त्यसले पर्याप्त नभएको बताए ।

‘तर जनतालाई खुसी पार्न ठुलो विकास चाहिँदैन । सडकका खाल्डाखुल्डी पर्दा मात्रै खुसी हुने रहेछन्’ मन्त्री दाहाल भन्छन् ।  उनले काठमाडौँका सडक जति खाल्डाखुल्डीरहित छन् ती सडक विभागले सुधार गरेको समेत दाबी गरे ।

उनले भने, ‘महानगरले दुई चारवटा गमला राखेर प्रशंसा पायो। त्यसैले महानगर क्षेत्रमा सडक विभाग अन्तर्गतको सडकमा सवि लेख्न बाध्य भयौँ ।’

प्रतिक्रिया दिनुहोस