किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, ०१ माघ २०८१, १४ : ३२
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता

बागलुङ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान  दिनुपर्ने बताएका हुन् ।

कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गरे । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्दै उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिइने बताए ।

कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरे । साथै मन्त्री अधिकारीले कृषिको विकासका लागि लगानी वृद्धि गर्न जरुरी भएको बताए ।

गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उनले बताए । देशलाई गरिबीबाट मुक्त गर्न पनि कृषिकर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस