सर्वसाधारणमा भूकम्पको मनोवैज्ञानिक असर कायमै

सफल खबर संवाददाता

बुधबार, २४ पुस २०८१, ०६ : ५६
सर्वसाधारणमा भूकम्पको मनोवैज्ञानिक असर कायमै

काठमाडौ । मंगलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो। चिसो मौसममा पनि मानिसहरुले सडक भरियो। कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए। कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो। 

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो। 

मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो  । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो।

भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हामफाले । हालफाल्दा घाइते भएका उहाँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ । भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ।
    
ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउँछन्। 

‘धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ, एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ। यी दुई ठूला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ’, उनले भने, ‘विसं २०७२ को भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखापर्‍यो । यस्ता विपद्बाट मानसिक रोगहरु देखापर्छ। विपद्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने? भन्ने कुरामा ख्याल गर्नुपर्छ।’

कार्की भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेषगरी, भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उनको भनाइ छ । डा कार्कीले भने, ‘भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ, यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ।’
    
उनले फरकफरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताए। ‘यस्ता विपद्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन, कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन,’ उनले भने, ‘सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ।’