कैलाली । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए ।
नेता डा. कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिए । “यो अन्तिम विकल्पको सरकार हो । सांसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन”, उनले जोड दिएर भने, “कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।”
नेता डा. कोइरालाले काँग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । नेता डा. कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताए । यसैगरी उनले एक वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने : . शेखर कोइराला
सरकारबाट कांग्रेसले हात झिक्नुपर्ने अवस्था देख्दिनँ : शेखर कोइराला
कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी बनाउन लाग्नुस् : शेखर कोइराला
कांग्रेस महाधिवेशन समयमै नभए पार्टी धरासायी हुन्छ : शेखर कोइराला
जनताको रकम हिनामिहना हुँदा सरकार मुकदर्शक भयो : शेखर कोइराला